क्युबालाई तुरुन्तै कब्जा गर्ने ट्रम्पको चेतावनी
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले छिमेकी टापु राष्ट्र क्युबालाई 'तुरुन्तै कब्जा गर्ने' चेतावनी दिएका छन्।
पाम बिचस्थित 'फोरम क्लब' मा आयोजित एक निजी रात्रिभोज (डिनर) कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले क्युबामा प्रशस्त समस्याहरू रहेकाले अमेरिकाले उक्त कदम चाल्नुपर्ने बताएका हुन्।
क्युबाप्रति आक्रामक रूपमा प्रस्तुत भएका ट्रम्पले भने, ‘क्युबालाई लगभग तुरुन्तै कब्जा गर्नेछौं। क्युबामा समस्याहरू छन्। हामी पहिले समाप्त गर्नेछौं,’ उनले भने।
यसअघि ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको थियो, ‘क्युबा सरकारको नीति, अभ्यास र कार्यहरूले अमेरिकाको लागि असामान्य र असाधारण खतराको रूपमा निरन्तरता दिइरहेका छन्। यी नीति, अभ्यास र कार्यहरू स्वतन्त्र र लोकतान्त्रिक समाजको नैतिक र राजनीतिक मूल्यमान्यताहरू प्रतिकूल पनि छन्।’
अर्कोतर्फ, क्युबाली सरकारले अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा लगाइएका नयाँ प्रतिबन्धहरूलाई दृढतापूर्वक अस्वीकार गरेको छ। क्युबाले यस कदमलाई 'क्युबाली जनतामाथि सामूहिक दण्ड' लगाउने उद्देश्यले गरिएको एकतर्फी र जबरजस्तीपूर्ण कार्यको रूपमा व्याख्या गरेको छ।
अमेरिकी कदमको प्रतिवाद गर्दै क्युबाका विदेशमन्त्री ब्रुनो रोड्रिगेजले भने,‘अमेरिकी प्रयासहरु बाह्य प्रकृतिका छन् र संयुक्त राष्ट्र संघको बडापत्रको उल्लङ्घन गर्ने किसिमका छन्। अमेरिकालाई क्युबा वा तेस्रो देश वा संस्थाहरू विरुद्ध प्रतिवन्ध लगाउने कुनै अधिकार छैन।’
ह्वाइट हाउसले क्युबाप्रतिको आफ्नो नीतिलाई थप कडा बनाउने संकेत गरेको केही घण्टापछि यो टिप्पणी आएको हो। यसअघि शुक्रबार ट्रम्पले क्युबाली सरकारमाथि प्रतिबन्धहरू विस्तार गर्न आदेश दिएका थिए।
वैशाख १९, २०८३ शनिबार १४:३१:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।