इरानसँगको युद्धबारे विवाद : अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता लैजाने
काठमाडौं : इरानसँगको युद्ध र कूटनीतिक मतभेद चुलिएपछि अमेरिकाले जर्मनीमा तैनाथ आफ्ना ५ हजार सैनिक फिर्ता लैजाने निर्णय गरेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र जर्मन चान्सलर फ्रेडरिक मर्त्जबीचको सार्वजनिक वाक्युद्धपछि पेन्टागनले यस्तो निर्णय लिएको हो।
केही दिनअघि चान्सलर मर्त्जले इरानी वार्ताकारहरूले अमेरिकालाई ‘अपमानित’ गरेको टिप्पणी गरेका थिए। यसको प्रतिक्रियामा ट्रम्पले मर्त्जको कार्यक्षमतामाथि प्रश्न उठाउँदै उनलाई ‘खराब काम गरिरहेको’ आरोप लगाएका थिए।
जर्मनीले इरानलाई परमाणु हतियार राख्न दिने पक्षमा रहेको भन्दै ट्रम्पले चर्को आलोचनासमेत गरेका छन्।
ट्रम्पले इरानविरुद्धको कारबाहीमा सहयोग नगरेको भन्दै इटाली र स्पेनबाट समेत आफ्ना सैनिक फिर्ता गर्ने चेतावनी दिएका छन्। उनले भनेका छन्, ‘इटाली र स्पेनले हामीलाई कुनै मद्दत गरेनन्, बरु उनीहरूले युद्धमा संलग्न हुन नचाहेको बताउँदै आएका छन्।’
हाल जर्मनीमा अमेरिकाका करिब ३६ हजार सक्रिय सैनिक छन्। पेन्टागनका प्रवक्ता सेन पार्नेलले रक्षा सचिव पिटर हेगसेथको निर्देशनमा आगामी ६ देखि १२ महिनाभित्र सैनिक फिर्ता गरिने जनाएका छन्।
यसअघि पनि ट्रम्पले जर्मनीको रक्षा खर्च कम भएको भन्दै सैनिक कटौतीको प्रस्ताव राखेका थिए, तर हाल जर्मनीले आफ्नो रक्षा बजेट उल्लेख्य रूपमा बढाएर जीडीपीको ३.१ प्रतिशत पुर्याएको छ।
यसअघि सन् २०२० मा पनि ट्रम्पले यस्तै योजना ल्याएका थिए तर त्यसलाई बाइडेन प्रशासनले उल्टाएको थियो। यो पटक भने ट्रम्पले आफ्नो सैन्य ध्यान युरोपबाट इन्डो-प्यासिफिक क्षेत्रतिर केन्द्रित गर्ने नीतिअन्तर्गत यो कदम चालेका हुन्।
वैशाख १९, २०८३ शनिबार १३:२७:१३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।