अमेरिकाद्वारा मध्यपूर्वका चार देशलाई ८.६ अर्ब डलरको हतियार बेच्ने सम्झौता स्वीकृत
काठमाडौं : अमेरिकाले मध्यपूर्वका आफ्ना सहयोगी राष्ट्रहरूका लागि ८.६ अर्ब डलर बराबरको हतियार बिक्री सम्झौतालाई स्वीकृति दिएको छ।
अमेरिका-इजरायल र इरानबीचको तनावपूर्ण अवस्था तथा युद्धविराम लागू भएको तीन साता बितिसकेको पृष्ठभूमिमा अमेरिकाको यो निर्णय आएको हो।
अमेरिकाले हतियार उपलब्ध गराउने देशहरूको सूचीमा इजरायल, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन्।
अमेरिकी विदेश मन्त्रालयको स्वीकृतिअनुसार कतारलाई ४ अर्ब डलरभन्दा बढी मूल्यको ‘प्याट्रियट एयर एन्ड मिसाइल डिफेन्स सिस्टम’ र त्यसको सहयोगी सेवा उपलब्ध गराइनेछ।
यसका अतिरिक्त, कतारलाई ९९ करोड २४ लाख डलर बराबरको ‘एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम’ पनि बेचिनेछ।
यस्तै कुवेतलाई २.५ अर्ब डलर बराबरको ‘इन्टिग्रेटेड ब्याटल कमान्ड सिस्टम’ बेच्न अनुमति दिइएको, इजरायललाई ९९ करोड २० लाख डलरभन्दा बढी मूल्यको ‘एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम’ बेच्न स्वीकृति दिइएको छ।
त्यसैगरी अमेरिकी विदेश मन्त्रालयले यूएईलाई पनि १४ करोड ७० लाख डलरभन्दा बढी मूल्यको सोही ‘एडभान्स्ड प्रिसिजन किल वेपन सिस्टम’ बेच्न अनुमति दिएको छ।
वैशाख १९, २०८३ शनिबार १०:१०:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।