दशकौं जीवन बिताएको थातथलो खण्डहर बनेपछि भग्नावशेषमा टोलाइरहेकी नानी कुमारी

दशकौं जीवन बिताएको थातथलो खण्डहर बनेपछि भग्नावशेषमा टोलाइरहेकी नानी कुमारी

काठमाडौं : शुक्रबार बिहान ११ बजेतिर बल्खुस्थित बागमती खोला किनारको सुकुम्बासी बस्तीमा पुग्दा सरकारी डोजरले भर्खरै एउटा युद्ध जितेर फर्किए झैँ देखिन्थ्यो।

बिहान ७ बजेदेखि चलेको डोजरको ताण्डवले भग्नावशेष बनेको खण्डहरको बीचमा ८४ वर्षीया नानी कुमारी घर्ती मगर एउटा थोत्रो कुर्सीमा बसेर आफ्नो बिथोलिएको संसार हेरिरहेकी थिइन्, जहाँ केही घण्टा अघिसम्म उनको वर्षौंको पसिनाले ठड्याएको एउटा ओत थियो।

सरकारले बस्ती भत्काइएसँगै विस्थापित नानी कुमारीको परिवार कहाँ बस्ने टुङ्गो छैन। उनी श्रीमान्, एक छोरा र नातिसँगै यहाँ बस्दै आएकी थिइन्।

छोरा राम वृद्ध बुवा-आमा र नाबालक छोरालाई घरको सामान रेखदेख गर्न लगाएर कोठा खोज्न लागिपरेका छन्। तर, उनले तत्काल कोठा पाउन सकिरहेका छैनन्। यदि कोठा भेटिए पनि भाडा महँगो छ।

कोठा खोज्न निस्किएका राम र उनका बुबाले चिया लिएर नानी कुमारी भएतिर फर्किँदा वासस्थानको समस्या यथावत् छ।

रामले बसिरहेको घरटहरा भत्किसक्दासमेत कोठा नपाएपछि वृद्ध बुबा-आमा र नाबालक छोरालाई राख्ने ठाउँ नभेटेपछि कहाँ लैजाने भनेर चिन्ता व्यक्त गरे। उनले ज्येष्ठ नागरिकका हकमा सरकारले मानवीय संवेदनामा ध्यान नदिएकोप्रति दुखेसो पोखे।

बस्ती खाली गराइएपछि शुक्रबार दिउँसोसम्म खाना समेत खान नपाएको यो परिवारले सुनायो।

रामले भने, ‘यस्ता वृद्ध बाउ-आमालाई कहाँ लग्ने मैले। न कोठा पायो, पाए पनि महंगो भन्छ। अहिलेसम्म खाना खाएको छैन। यस्ता बुढा-बुढीलाई त सरकारले हेर्न पर्छ नि!’

सानै उमेरमा अन्तरजातिय विवाह गरेपछि बुढासँगै काठमाडौं आएकी नानीकुमारीलाई कति सालमा यहाँ आएको भन्ने सम्झना छैन। उनलाई आफ्नो उमेर कति पुग्यो भन्ने पनि थाहा छैन। काठमाडौं आएपछि उनले अरूको घरको जुठा भाडा माझ्ने, सरसफाइ गर्ने काम गरिन्।

काम नपाउँदा फोहोर उठाउने काम गरेको अनुभव उनले सुनाइन्।

‘अरूको घरमा झाढुपोछा लायो मैले, अरूले खाएको जुठा भाडा माझ्यो। ५ वर्ष फोहोर टिप्यो। त्यही पैसाले बनाएको एउटा टहरा थियो। यो पनि सरकारले भत्कायो। मेरो बुढाले घण्टीलाई नै भोट हाल्यो भन्थ्यो। यस्तो गरिदियो’, उनले भनिन्।

राम्रोसँग हिँडडुल गर्न नसक्ने नानीकुमारी अहिले छोराको निर्णय पर्खेर बसेकी छन्। यता छोरा भने सरकारी निर्णयमा भरमा छन्। उनी भन्छन्।

‘मेरो-बुवाको नाममा सरकारले जग्गा जमिन देखाओस्। जा भन्छ, त्यही जान्छ हामी। गाउँमै देखाए पनि जान्छ। तर हाम्रो त केही छैन। न त कोठा पाउँछ। नत जग्गा जमिन नै छ। कहाँ जाऊँ हामी अब?’, उनले प्रश्न गर्दै भने।

सुकुम्बासी पनि हुन् पाएन : कृष्ण घर्ती मगर 
श्रीमतीभन्दा १४ वर्ष कान्छा कृष्ण सधैँ खल्तीमा औषधि बोकेर हिँड्थे। समयमा औषधि खान ढिलो भएमा उनलाई चक्कर लाग्न थाल्छ। कृष्णको उपचारमा मासिक २ हजारदेखि २५ सय रुपैयाँसम्म खर्च हुने गर्छ।

छोरा रामकै भरोसामा रहेका उनलाई छोराको जागिर नभएको बेलामा वासस्थान पनि गुमेपछि अब औषधिसहित दैनिक जीवन चलाउन पैसाको जोहो कसरी हुन्छ भन्ने चिन्ताले सताइरहेको छ।

‘यो सिटामोल खाएन भने घुमाउँछ। गोजीमा यति धेरै औषधि बोकेर हिँडेको छ,’ औषधि देखाउँदै उनले भने, ‘महिनाकै २ हजारदेखि २५ सय लाग्छ। छोराको पनि काम छैन। कसरी बाच्छ होला म।’

सानै उमेरमा बुवाको मृत्यु भएपछि कृष्णलाई आफ्ना बुवाको अनुहारसमेत याद छैन। आमाले धादिङका एक व्यक्तिसँग दोस्रो विवाह गरी घर छाडेपछि उनी टुहुरो बने। उनलाई तिनै ‘बुवा’ले अरूको घरमा हली काम गरेर जेनतेन पालेका थिए। तर साहुले उनलाई पनि कामबाट निकालेपछि कृष्णले आफैँ मेहनत गर्न थाले। २५ वर्षको उमेरमा काठमाडौं छिरेका उनले श्रममूलक काम गरी जीवन गुजारा गरे।

‘हामी ४ भाइ छोरा थियो। बुवा बितेको मलाई थाहा छैन। आमा पोइल हिँडेर धादिङ जिल्लामा आउनु भयो। साना बुवा हली हुनुहुन्थ्यो। अरूको गोरु जोतेर खाइराखेको पछि साहूले निकालिदिई हाल्यो। दाइहरू विदेश गयो। आफ्नो आफ्नो जग्गा जोड्यो। मैले सकेन। सुकुम्बासी भयो। अहिले त्यो सुकुम्बासी पनि हुन् पाएन म’, उनले भने।

भएको घर टहरा सरकारले भत्काइदियो। श्रीमतीको स्वास्थ्य अवस्था बिग्रिएमा वा भवितव्य आइपरेमा आफूसँग खर्चसमेत नभएर अन्तिम संस्कार गर्न पो नसकिने हो कि भन्ने पिर लागेको उनी सुनाइन्।

‘घर गयो, छोराको कमाई छैन, भोलि बुढी बिरामी भयो भने, लास उठाउने पैसा छैन’, उनले भने।

सरकारले विस्थापितहरूलाई रङ्गशालामा राख्ने भनेपछि उनले आक्रोश व्यक्त गरे। लालपुर्जा पाउन धेरै प्रयास गर्दा पनि कुनै राजनीतिक दलले समस्या समाधान नगरेको उनको भनाइ थियो। माओवादी, कांग्रेस र एमाले नेतृत्वका विगतका सरकारहरूले केही नगरेको र वर्तमान सरकारले उल्टै उठिबास लगाएको उनले बताए।

उठिबास लगाएको सरकारले खाना, बस्ने व्यवस्था राम्रो गरिदिएला भन्नेमा उनलाई शंका छ।

उनले भने ‘हामी बुढा-बुढी भोकै बस्न सक्दैन। एक जना मात्रै होइन। उनीहरूको तौर-तरिका र हाम्रो तौर-तरिका मिल्दैन। हामीलाई बिहानै तातोपानी तताएर खानुपर्छ, चिया खानुपर्छ। पानी कसले दिने? उनीहरूको राजाको काम कहिले जाला घाम हुन्छ। यसरी त मेरो बुढी मर्छ, खान नपाएर।’

उनी सुरुमा आउँदा बल्खुखोला अहिलेको जस्तो थिएन। यहाँ डम्पिङ्ग साइड रहेको उनी सुनाउँछन्।

‘दिनभरि भारी बोक्यो, रिक्सा चलायो, खोला किनारमा बालुवा चालेर बेलुका सुकुम्बासी घर आउँथ्यो, पुरै प्लाष्ट्रिकले ढाक्थ्यो’, विगत सम्झिँदै उनले सुनाए। 

७० वर्षीय कृष्णलाई आफ्नोभन्दा श्रीमती र नातिको पिर छ। आफू वृद्ध भइसकेकाले अब नातिले सुख पाए हुन्थ्यो भन्ने उनको इच्छा छ।

कृष्णले भने, ‘अहिलेको सरकारले व्यवस्थित गरिदिए हुन्थ्यो। नाति हुर्किसक्यो, १४,१५ वर्षको भयो। अब हामी त मरेर जाउँला अब यो नाति बसोबास भयो भने त्यही हो राम्रो।’

'जहाँ जमिन देख्यो, त्यही जान्छ हामी' राम मगर (छोरा)

नानी कुमारी र कृष्ण घर्ती मगरका कान्छा छोरा हुन् राम मगर। उनीभन्दा अघिका तीन जना दाजुहरूको यसअघि नै मृत्यु भइसक्यो। ५ वर्षअघि मात्र रामका एक दाजुको छोपुवा (मिर्गी) रोगका कारण मृत्यु भयो।

नानी कुमारीका अनुसार आर्थिक अवस्था कमजोर हुँदा समयमा उपचार गराउन नसकेकै कारण उनले ज्यान गुमाउनुपरेको थियो। ‘जता गयो त्यतै ढल्थ्यो। छोपुवा रोग थियो। औषधि पाएन। पाएको भए बाच्थ्यो होला, खस्यो’, उनले भनिन्।

वृद्ध बुबा-आमाको हेरचाह र घर व्यवहार चलाउने सम्पूर्ण जिम्मेवारी राम मगरको काँधमा आयो। सवारी चालकको सीप भएका रामले केही समय अघिसम्म साहुको गाडी चलाएर परिवार हेरे। तर साहुले गाडी बेचिदिएपछि उनी बेरोजगार बने।

एकातिर वृद्ध बुबा-आमा र नाबालक छोराको रेखदेख गर्नुपर्ने जिम्मेवारी र अर्कोतिर रोजगारी नहुँदा उनी अब कसरी गुजारा चलाउने भन्ने अन्योलमा देखिए।

‘साहूले गाडी बेच्यो। १५-२० हजार हुन्थ्यो। अरू ठाउँमा जाऊँ भने आमा-बुवालाई कसले हेरिदिने। कुन बेला के हुन्छ, थाहा छैन। गरिरहेको काममा साहूले गाडी बेच्यो’, उनले भने। 

सुकुम्बासीहरूको व्यवस्थापन सरकारले गर्ने भनेको विषय रामले पनि सुनेका छन्। तर, सरकारप्रति उनी विश्वस्त छैनन्।

यसअघिका सरकारहरूले बल्खुकै जमिनको लालपुर्जा दिने आश्वासन दिए पनि त्यो कहिल्यै कार्यान्वयन नभएको उनी बताउँछन्। विगतमा दिइएका आश्वासनहरू पूरा नभएका कारण अहिले पनि उचित व्यवस्थापन हुनेमा उनी आशंका गर्छन्।

‘यदि सरकारले भनेजस्तो जग्गा देखायो भने जहाँ भन्छ, त्यही जान्छ हामी। योभन्दा अगाडिको सरकारले लालपुर्जा दिन्छु भन्यो, तर दिएन’, उनले भने।

रामका काकाबाहरूको थानकोटमा आफ्नै घरजग्गा रहेछ। तर, आफ्ना बुवाको नाममा कुनै सम्पत्ति नरहेको उनी बताउँछन्।

रामले भने, ‘हामीलाई त बुवाले जग्गा जमिन छैन भन्यो। हजुरबुवाको पनि छैन भन्यो। फेरी अरू बुवाहरूको छ। हाम्रै छैन।’

वैशाख १९, २०८३ शनिबार ०७:११:५० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।