‘लालीबजार’ विवादमा निश्चलको राजनीतिक छविको छाया
काठमाडौं : उच्च अदालत पाटनले वादी समुदायको कथामा आधारित चलचित्र ‘लालीबजार’को प्रदर्शनमा रोक लगाएपछि निर्माण पक्ष यतिबेला आक्रोशित छ। अदालतको निर्णयविरुद्ध चलचित्र निर्माता संघ, चलचित्र संघ र अन्य पेसागत संस्थाहरूका प्रतिनिधि सहितको टोलीले माइतीघर मण्डलामा विरोध प्रदर्शन समेत गरे।
प्रदर्शनमा अभिनेत्री स्वस्तिमा खड्का, कलाकार रवीन्द्रसिंह बानियाँ, कार्यकारी निर्माता प्रदीप भट्टराई लगायतको उपस्थिति थियो। निर्देशक निश्चल बस्नेत पनि ऐक्यबद्धता जनाउन माइतीघर पुगेका थिए। तर विरोध प्रदर्शनमा बस्नेत तथा खड्काको उपस्थितिबारे सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म विवाद र आलोचना भइरहेको छ। फिल्मसँग सरोकार नभए पनि निश्चल विरोध प्रदर्शनमा सहभागी भएपछि भदौ २४ को ध्वंसमा जोडेर उनको आलोचना भइरहेको छ।
निश्चल यसअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवं प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'लाई समर्थन गरेको र भदौ २४ को ध्वंसमा उनीहरूको भूमिका रहेको दाबीसहित आलोचना भएको थियो। बस्नेत दम्पतीको विगतको भूमिकालाई लिएर अहिले खड्का अभिनीत फिल्म ‘लालीबजार’लाई बहिष्कार गर्न सामाजिक सञ्जालमा माग उठिरहेका छन्।
सामाजिक सञ्जालमा ‘लालीबजार’को विषय उठाउनेमा केही एमाले निकट नेता र समर्थकहरूसमेत देखिएका छन्। तर, एमाले नेता सूर्य थापाले भने ‘लालीबजार’लाई बहिष्कार नगर्ने र कलाकारहरूको नियत बुझ्न आफू स्वयंले टिकट काटेर फिल्म हेर्ने लेखेका छन्।
सामाजिक सञ्जालमा बस्नेत लक्षित सामग्री सेयर गर्दै उनले लेखेका छन्, ‘तिनका चलचित्र बहिस्कार गरेर वा गर्न भनेर होइन, फुर्सद मिल्दा टिकट काटेर हेरी सहयोग गर्न चाहन्छु। निश्चय नै, तिनका भगवानलाई मैले देश, लोकतन्त्र र जनताका दैत्यभन्दा बढी केही पनि ठान्दिनँ। यिनका नियत र दुरुपयोग जानकारीका लागि पनि चलचित्र हेर्नुपर्ने हुन्छ।’
बस्नेत, खड्का र अर्जुन घिमिरे (पाँडे)को नामै तोकेर उनीहरू राजनीतिक रूपमा दुरुपयोग भएको उनको आरोप छ। दाबी गर्दै समय क्रममा त्यसको हिसाबकिताब हुने टिप्पणी गरेका छन्। उनले लेखेका छन्, "निश्चल बस्नेत, स्वस्तिमा खड्का, अर्जुन घिमिरेलगायत थुप्रै कलाकारहरू भदौ २३, २४ र फागुन २१ सम्मका घटना/परिघटनामा जसरी दुरुपयोग भए। त्यसको उचित हिसाबकिताब समय क्रममा हुने नै छ। जानी नजानी राजनीतिको दुरुपयोगमा परेका व्यक्तिहरूलाई घृणा होइन, उद्धार र सही शिक्षाको जरुरत छ।"
त्यसैगरी, गायिका ज्योति मगरले पनि सामाजिक सञ्जालमार्फत घुमाउरो पारामा विरोध जनाएकी छन्। उत्पीडित र शोषित वर्गको कथा बेचेर कुप्रथालाई नै जीवन्त राख्न खोजिएको भन्दै उनले प्रश्न उठाएकी छन्। उनले परिवर्तनको नाममा 'खराने ग्याङ' सक्रिय रहेको टिप्पणी गरिन्।
एमाले नेता थापाकै पोस्टर सेयर गर्दै उनी लेख्छिन्, "जातीय भेदभावको अन्त्य खोज्ने, माफी माग्ने, कानुन पनि बन्ने तर उहीँ उत्पीडित र शोषित वर्गको कथा बेचेर हरेकको मानसपटलमा उहीँ कुप्रथा लाई बर्करार राख्नु कतिको उचित? परिवर्तनको लागि देशै जलाउने ‘खराने ग्याङ’का नाइकेहरूलाई प्रश्न?"
वालेन शाहलाई काठमाडौं महानगरपालिकाको मेयर बनाउने देखि प्रधानमन्त्री बनाउनसम्म बस्नेत लागयताको टिम सक्रिय रहेको चर्चा बेलाबेला हुने गर्छ। उनीहरुले चुनावको बिचमा आएर दिमाग खराब फिल्म युट्युबमा रिलिज गरेका थिए। निश्चल रास्वपाबाट काठमाडौं ५ बाट उम्मेदवार समेत बन्न खोजेका थिए। त्यसैले उनको राजनीतिसँग जोडेर आलोचना हुने गरेको हो।
तर, ‘लालीबजार’मा बस्नेतको प्रत्यक्ष लगानी वा अभिनय नभए पनि उनकी पत्नी खड्का मुख्य भूमिकामा रहेकाले उनले फिल्मको पक्षमा वकालत गरिरहेका छन्। उच्च अदालतले आगामी २२ गते वादी समुदाय र निर्माण पक्षलाई छलफलका लागि बोलाएको छ। उक्त छलफलपछि मात्र फिल्म प्रदर्शन हुने वा नहुनेबारे अन्तिम टुङ्गो लाग्नेछ।
वैशाख १८, २०८३ शुक्रबार १८:३५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।