‘काजी’को पहिलो गीत सार्वजनिक, किसान अवतारमा विपिन र केकी
काठमाडौं : आगामी वैशाख ८ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘काजी’को प्रमोसन थालिएको छ। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले प्रमोसन स्वरूप पहिलो गीत ‘वारि बर पारि पीपल’बोलको गीत रिलिज गरेको हो।
बिहीबार निर्माण टिमले काठमाडौंको रञ्जना हलमा एउटा कार्यक्रमको आयोजना गर्दै फिल्ममा समावेश गीत रिलिज गरियो। गीतको भिडियोमा फिल्मका मुख्य कलाकार विपिन कार्की र अभिनेत्री केकी अधिकारीलाई किसानको भूमिकामा प्रस्तुत गरिएको छ।
विपिन र काजीलाई प्रेमिल दैनिकीसँगै बिहानको पूजापाठदेखि खेतबारीको कामको दृश्य समेटिएको छ। निर्माण पक्षका अनुसार यो दृश्य फिल्मको कथासँगै मेल खान्छ। यस फिल्मको गीतमा नेपाल आइडलका विजेता गांगा सोनाम र करण परियारले गाएका छन्। गीतलाई भने काली प्रसाद बास्कोटाको शब्द तथा संगीतको काम गरेका छन्। उनी नेपाल आइडलका जज हुन्।
रिजाल एन्ड रिजाल प्रोडक्सनको प्रस्तुति निर्माण भएको यस फिल्मलाई लक्ष्मण रिजालले निर्देशन गरेका हुन्। फिल्ममा विपिन र केकीका अलावा गरिमा शर्मा, हेमन्त बुढाथोकी, प्रकाश घिमिरे, विशाल पहारी, हिउँवाला गौतम, अनुराग कुँवर, सन्दीप बाबु लोहानी, विनोद न्यौपाने, रश्मि भट्ट, प्रीतिका शर्मा, प्रशंसा सुबेदी, नवराज गिरी र बाल कलाकार दिक्षिता अर्याल, आरव बराल, सुपला सापकोटाले अभिनय गरेका छन्। प्रदीप भारद्धाजको कथा रहेको यस फिल्मको छायांकन राजभण्डारीले छायांकन गरेका हुन्।
असीम काफ्ले कार्यकारी निर्माता रहेको फिल्मको निर्मातामा राम प्रसाद रिजाल, नेहान रिजाल र विकाश राज जोशी रहेका छन्। साथै फिल्ममा कालीप्रसाद बास्कोटाको संगीत, सुजिल कर्माचार्यको पाश्र्व संगीत, नृत्य निर्देशक कविराज गहतरज,सम्पादन सुपरभाइजर बनिश शाह र सम्पादक विपिन मल्लको छ।
वैशाख १७, २०८३ बिहीबार १८:२३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।