इरानमाथि सैन्य कारबाहीको चर्चाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढ्यो

इरानमाथि सैन्य कारबाहीको चर्चाले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ह्वात्तै बढ्यो

काठमाडौं : अमेरिकाले इरानसँगको जारी गतिरोध अन्त्य गर्न नयाँ सैन्य विकल्पहरूमाथि छलफल गरिरहेको खबर सार्वजनिक भएपछि विश्व बजारमा कच्चा तेलको मूल्यमा उच्च वृद्धि भएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्धका नयाँ सैन्य योजनाहरूबारे 'ब्रिफिङ' दिइएको समाचार बाहिरिएसँगै बिहीबार एसियाली बजारमा तेलको मूल्यमा तीव्र उछाल आएको हो।

समाचार संस्था 'एक्सियोस' का अनुसार, अमेरिकी सेन्ट्रल कमाण्डले इरानसँगको वार्तामा देखिएको अड्चन हटाउन 'छिटो र प्रभावकारी' आक्रमणको योजना तयार पारेको छ।

प्रस्तावित योजनामा इरानका महत्त्वपूर्ण भौतिक संरचनाहरूलाई निशाना बनाउने वा महत्त्वपूर्ण व्यापारिक मार्ग ‘होर्मुज स्ट्रेट’ को केही भागमा नियन्त्रण लिई जलमार्ग खुला गर्ने उल्लेख छ।

यसका लागि स्थल सेनाको परिचालन पनि हुन सक्ने बताइएको छ। यद्यपि, ह्वाइट हाउस र अमेरिकी सेन्ट्रल कमाण्डले यस विषयमा आधिकारिक टिप्पणी गरेका छैनन्।

सैन्य तनावको खबरले अन्तर्राष्ट्रिय बजारमा 'ब्रेंट क्रूड' को मूल्य करिब ७ प्रतिशतले बढेर प्रतिब्यारेल १२६ डलर नाघेको छ। सन् २०२२ मा रुसले युक्रेनमाथि पूर्ण आक्रमण गरेपछिको यो सबैभन्दा उच्च मूल्य हो।

इरानसँगको शान्ति वार्ता असफल हुँदै गएको र विश्वको महत्त्वपूर्ण समुद्री व्यापारिक मार्ग मानिने ‘होर्मुज स्ट्रेट’ बन्द हुने चिन्ताले ऊर्जाको मूल्य अझै बढ्ने देखिएको छ।

यसअघि नै ऊर्जाको मूल्य बढ्दै गएको अवस्थामा नयाँ सैन्य तनावको खबरले विश्व अर्थतन्त्र थप चिन्तित बनेको छ।

वैशाख १७, २०८३ बिहीबार १२:३३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।