पुटिन इरान विवाद सुल्झाउन मद्दत गर्न चाहन्छन्, तर मैले पहिले युक्रेन युद्ध रोक्न भनेँ : ट्रम्प

पुटिन इरान विवाद सुल्झाउन मद्दत गर्न चाहन्छन्, तर मैले पहिले युक्रेन युद्ध रोक्न भनेँ : ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग युक्रेन र इरानको विषयलाई लिएर कुराकानी भएको बताएका छन्।

बुधबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले पुटिन इरानको द्वन्द्व समाधान गर्न मद्दत गर्न इच्छुक रहेको जानकारी दिए।

पत्रकारको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, ‘हामीले युक्रेन युद्धको बारेमा धेरै कुरा गर्यौं। उहाँ (पुटिन) इरानको विषयमा मद्दत गर्न चाहनुहुन्छ। तर मैले उहाँलाई भनेँ- मलाई मद्दत गर्नुअघि म तपाईंको युद्ध (युक्रेन युद्ध) समाप्त भएको हेर्न चाहन्छु।’

अर्को एक प्रश्नको जवाफमा ट्रम्पले पुटिन इरानको युरेनियम संवर्द्धन सम्बन्धी प्रक्रिया र सम्झौतामा सहभागी हुन चाहेको खुलाए।

ट्रम्पले भने, ‘पुटिनले मलाई भन्नुभयो कि यदि उहाँले हामीलाई इरानसँग सम्झौता गर्न मद्दत गर्नुभयो भने, उहाँ संवर्द्धन प्रक्रियामा सामेल हुन चाहनुहुन्छ। तर मैले उहाँलाई इरानको विषयमा भन्दा पनि युक्रेन युद्ध समाप्त गर्ने कुरामा बढी ध्यान दिन आग्रह गरेँ।’

इरानको परमाणु कार्यक्रमबारे बोल्दै ट्रम्पले इरानलाई कुनै पनि हालतमा परमाणु हतियार राख्न नदिने स्पष्ट पारे।

उनले थपे, ‘हामी इरानलाई परमाणु हतियार राख्न दिन सक्दैनौँ। उनीहरूसँग यस्तो हतियार हुनेछैन र यो कुरा उनीहरूलाई पनि थाहा छ। यस विषयमा पुटिनसँग पनि छोटो कुरा भयो र उहाँ पनि इरानसँग परमाणु हतियार होस् भन्ने चाहनुहुन्न।’

वैशाख १७, २०८३ बिहीबार ०७:३८:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।