सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : सभापति थापा

सरकारले संसद् र नागरिक दुवैलाई हेप्यो : सभापति थापा

रौतहट : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले वर्तमान सरकारले संसद् र नागरिक दुवैलाई हेपेको आरोप लगाएका छन्।

आफ्नो निर्वाचन क्षेत्र सर्लाही-४ का मतदातालाई भेट्न जाने क्रममा रौतहटको चन्द्रनिगाहापुरमा आयोजित कार्यकर्ता भेटघाटमा उनले यस्तो टिप्पणी गरेका हुन्।

सभापति थापाले आफ्नै बहुमत भएको सदनप्रति सरकारको विश्वास नरहेको बताए।

‘सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास रहेनछ,’ उनले भने, ‘संसद्को मिति तोकेर आह्वान भइसकेको अवस्थामा फेरि कुनै सूचना नदिई बैठक स्थगित गरिनुले सरकारको गैरजिम्मेवारीपन प्रष्ट पार्छ।’

संसद् छलेर अध्यादेश ल्याउने सरकारको तयारीप्रति लक्षित गर्दै उनले नागरिकलाई जानकारी नै नदिने प्रवृत्तिको आलोचना गरे।

सांसदहरूकै अनुरोधमा बैठक स्थगित गरिएको भनेर भ्रामक प्रचार गरिएको भन्दै थापाले यसलाई ‘सरासर ढाँटेको र नागरिकलाई हेपेको’ संज्ञा दिए।

संवैधानिक परिषद्को बनोटका विषयमा चर्चा गर्दै उनले विगतका प्रधानमन्त्रीहरूले जस्तै अहिले पनि आफू अनुकूल चलखेल गर्ने काम जारी रहेको बताए।

‘हामी सुधारको पक्षमा छौँ र संवैधानिक निकायको नियुक्तिमा व्यापक परिवर्तन गर्ने पक्षमा थियौँ,’ थापाले भने, ‘तर प्रतिपक्षसँग कुनै छलफल नगरी एकलौटी ढङ्गले अघि बढ्न खोजिएको छ।’

शासकीय सुधारका काममा सरकारलाई सहयोग गर्न तयार रहे पनि सदन र अन्य दललाई पेलेर जाने प्रवृत्ति विरुद्ध कांग्रेस चुप नबस्ने उनको चेतावनी थियो।

गत निर्वाचनमा सर्लाही-४ बाट पराजित भएपछि थापा पहिलो पटक मतदातालाई धन्यवाद दिन र स्थानीय अवस्था बुझ्न सर्लाही जान लागेका हुन्। उनले आज दिनभर सर्लाहीका विभिन्न स्थानमा पुगेर मतदाताहरूसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम रहेको छ।

वैशाख १६, २०८३ बुधबार १३:०२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।