इरानसँग जोडिएका ३५ व्यक्ति र कम्पनीहरूमाथि अमेरिकी प्रतिबन्ध
एजेन्सी : अमेरिकाले इरानसँग जोडिएका ३५ व्यक्ति र कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको छ। उनीहरूमाथि इरानको ‘गोप्य बैंकिङ प्रणाली’को हिस्सा बनेर काम गरेको आरोप लगाइएको छ।
अमेरिकी अर्थ मन्त्रालयअन्तर्गतको ‘अफिस अफ फरेन एसेट्स कन्ट्रोल’का अनुसार प्रतिबन्धमा परेका यी व्यक्ति तथा संस्थाहरू अर्बौं डलरको अवैध कारोबारमा संलग्न थिए।
उनीहरूलाई इरानको आतंकवादलाई बढावा दिने र सहयोग गर्ने गतिविधिहरूसँग जोडिएको बताइएको छ। सार्वजनिक रिपोर्टअनुसार, यो नेटवर्कले अवैध रूपमा तेल बिक्री गरेर मोटो रकम कमाएको थियो।
सोही रकमबाट क्षेप्यास्त्र (मिसाइल) र हतियारका लागि आवश्यक पार्टपुर्जाहरू खरिद गरिएको र इरान समर्थित लडाकुहरूलाई आर्थिक सहयोग पठाइएको दाबी गरिएको छ।
त्यस्तै, अमेरिकाले उक्त नेटवर्कमार्फत इरानी सेना र ‘रिभोलुसनरी गार्ड’लाई विश्वव्यापी वित्तीय प्रणालीसम्म पहुँच पुर्याउने काम भएको गम्भीर आरोपसमेत लगाएको छ।
इरानलाई आर्थिक रूपमा कमजोर बनाउन र दबाब सिर्जना गर्न अमेरिकाले यसअघि पनि यस्ता थुप्रै कडा कदमहरू चालिसकेको छ।
वैशाख १६, २०८३ बुधबार ०७:५१:३० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।