इरानले पठायो युद्धविरामका लागि ‘शान्ति प्रस्ताव’, तर डोनाल्ड ट्रम्प अझै असन्तुष्ट
वासिङ्टन : इरानले युद्ध अन्त्यका लागि अमेरिकालाई हालै नयाँ प्रस्ताव पठाएको छ, तर अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प सो प्रस्तावप्रति खुसी छैनन्।
समाचार एजेन्सी रोयटर्सले एक अधिकारीलाई उद्धृत गर्दै उल्लेख गरेअनुसार ट्रम्प असन्तुष्ट हुनुको मुख्य कारण इरानको प्रस्तावमा उसको ‘परमाणु कार्यक्रम’बारे उल्लेख नगरिनु हो।
ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लेभिटले यस प्रस्तावका सम्बन्धमा राष्ट्रपति ट्रम्पले आफ्ना वरिष्ठ राष्ट्रिय सुरक्षा सल्लाहकारहरूसँग छलफल गरिरेको जानकारी दिएकी छन्।
अमेरिका र इरानबीच चर्किएको विवादका कारण त्यस क्षेत्रमा इन्धनको आपूर्तिमा समेत कमी आएको छ।
अर्कोतर्फ, इरानका विदेशमन्त्री अब्बास अरागचीले पछिल्लो दुई दिनमा पाकिस्तान, ओमान र रुसको भ्रमण गरिसकेका छन्। उनको भ्रमणको उद्देश्य इरानका लागि अन्तर्राष्ट्रिय समर्थन जुटाउनु रहेको मानिएको छ।
यसअघि पाकिस्तानको इस्लामावादमा इरान र अमेरिकाबीच हुने भनिएको दोस्रो चरणको वार्ता हुन सकेको थिएन। वार्ता हुन नसकेपछि ट्रम्पले इरानले चाहेमा आफ्नो प्रस्ताव फोनमार्फत पनि पठाउन सक्ने बताएका थिए।
वैशाख १५, २०८३ मंगलबार १०:१९:४२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।