डेब्यु जोडीको बदलिएको क्याम्प
काठमाडौं : अघिल्लो दसैंमा प्रदर्शनमा आएका ‘१२ गाउँ’ र ‘छक्का पञ्जा ५’ बीच बक्स अफिसमा कडा प्रतिस्पर्धा भयो। प्रतिस्पर्धा चर्किँदा समिर भट्ट र सनिशा भट्टराईलाई डेब्यु फिल्म अभिनेता बिराज भट्टद्वारा निर्देशित ‘१२ गाउँ’बाट ठूलो सफलता त मिल्यो।
सामाजिक सञ्जालमा दुवै फिल्मका समर्थकहरू विभाजित हुँदा विवाद समेत उत्पन्न हुन पुगेको थियो। यद्यपि, दुवै फिल्मले व्यावसायिक रूपमा राम्रो कमाइ गरे। सोही समयमा प्रदर्शन भएको जितु नेपालको चलचित्र ‘ज्वाइँ साब’ भने यी दुई ठूला फिल्मको चेपुवामा परेको थियो।
आगामी दसैंमा पनि यस्तै रोचक प्रतिस्पर्धा दोहोरिने निश्चित भएको छ। दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले यति बेला ‘छ माया छपक्कै २’ निर्माण गरिरहेको छ। अभिनेता गिरीले सामाजिक सञ्जालमा फिल्मको शुभ मुहूर्त गरेको जानकारी शेयर गरेका छन्।
दीपेन्द्र लामाको लेखन तथा निर्देशन रहने फिल्मको सोमबारदेखि छायांकन सुरु गरिएको छ। यदि ‘छ माया छपक्कै २’को निर्माण टिमले दसैंमा प्रदर्शन मिति तोकेको अवस्थामा एक पटक फेरि अघिल्लो वर्षकै प्रतिस्पर्धी टिमको ‘१२ गाउँ २’बीच प्रतिस्पर्धा हुने पक्का छ।
प्रतिस्पर्धामा एउटा रोचक पक्ष के छ भने, ‘१२ गाउँ’बाट चर्चामा आएकी अभिनेत्री सनिशा भट्टराई यस पटक भने प्रतिस्पर्धी समूहको ‘छ माया छपक्कै २’मा आबद्ध भएकी छन्। यस फिल्ममामा सनिशाका साथै केकी अधिकारीको पनि मुख्य भूमिका रहनेछ। आफ्नो डेब्यु फिल्मका सह-अभिनेता समिर भट्टसँग यस पटक सनिशाको व्यावसायिक प्रतिस्पर्धा हुने देखिएको छ।
यता, बिराज भट्टको निर्देशनमा निर्माण हुने ‘१२ गाउँ २’का लागि समिर भट्ट, प्रकाश शाह, अनुपविक्रम शाही र स्वयं बिराज भट्ट छानिएका छन्। फिल्मको मुख्य अभिनेत्रीका बारेमा निर्माण पक्षले औपचारिक जानकारी नदिए पनि हाल प्रदर्शन भइरहेको ‘राम नाम सत्य’की अभिनेत्री खुसी कार्कीको चर्चा छ।
सनिशाले ‘१२ गाउँ’ पछि ‘नरसिंहा अवतार’ र ‘शिरिषको फूल’ नाटकमा अभिनय गरेर आफ्नो कलाकारितालाई थप निखारेकी छिन्। आगामी दसैंमा यी दुई प्रतीक्षित फिल्मका साथै ‘डबल ट्रिपल’ र ‘महाराजधिराज’ लगायतका फिल्महरू पनि प्रदर्शन हुने तयारीमा छन्। यसले गर्दा आगामी दसैंको समय नेपाली सिने क्षेत्रका लागि निकै व्यस्त र प्रतिस्पर्धात्मक बन्ने देखिन्छ।
वैशाख १४, २०८३ सोमबार १५:३८:३३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।