ट्रम्पको 'टेलिफोन' प्रस्ताव र इरानको रुस कार्ड, शान्ति प्रयासमा थप अन्योल

ट्रम्पको 'टेलिफोन' प्रस्ताव र इरानको रुस कार्ड, शान्ति प्रयासमा थप अन्योल

 एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले दुई महिनादेखि जारी युद्ध अन्त्यका लागि वार्ता गर्न चाहेमा सिधै टेलिफोन गर्न सक्ने बताएका छन्। 

गत आइतबार फक्स न्युजको ‘द सन्डे ब्रिफिङ’ कार्यक्रममा बोल्दै ट्रम्पले इरानलाई वार्ताको ढोका खुला रहेको तर त्यसका लागि आणविक हतियार त्याग्नुपर्ने सर्त अनिवार्य रहेको उल्लेख गरे।

ट्रम्पले "उनीहरूसँग फोन छ, उनीहरूले हामीलाई कल गर्न सक्छन्" भन्दै सुरक्षित सञ्चार माध्यम उपलब्ध रहेको बताएका छन्। यद्यपि, इरानले परमाणु हतियार नबनाउने ग्यारेन्टी नदिएसम्म कुनै सम्झौता नहुने ट्रम्पको अडान छ।

ट्रम्पले  भने, "उनीहरूलाई थाहा छ सम्झौतामा के हुनुपर्छ। उनीहरूले आणविक हतियार राख्न पाउने छैनन्, अन्यथा भेट्नुको कुनै अर्थ छैन।"

इरान र अमेरिकाबीचको शान्ति प्रयासमा उतारचढाव आइरहेका बेला इरानका विदेश मन्त्री अब्बास अराक्ची रुसी समर्थनका लागि मस्को पुगेका बेला ट्रम्पको यस्तो भनाइ आएको हो।

इरानले लामो समयदेखि युरेनियम समृद्धिकरणको अधिकार मान्यता दिन माग गर्दै आएको छ। तेहरानले यसलाई शान्तिपूर्ण प्रयोजनका लागि भएको दाबी गरे पनि पश्चिमी शक्तिहरूले यसलाई आणविक हतियार निर्माणसँग जोडेर हेर्ने गरेका छन्।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणबाट सुरु भएको यस युद्धमा हजारौँको ज्यान गइसकेको छ। युद्धका कारण विश्व बजारमा तेलको मूल्य बढेको छ भने मुद्रास्फीति र विश्वव्यापी आर्थिक मन्दीको जोखिम बढेको छ।

इरानले विश्वको २० प्रतिशत तेल ढुवानी हुने रणनीतिक जलमार्ग 'स्ट्रेट अफ हर्मुज' बन्द गराएको छ भने अमेरिकाले इरानी बन्दरगाहहरूमा नाकाबन्दी लगाएको छ। यसले गर्दा सोमबार एसियाली बजारमा तेलको मूल्य थप वृद्धि भएको छ।

इरानले पाकिस्तानमार्फत युद्ध अन्त्य गर्ने र जलमार्ग खोल्ने नयाँ प्रस्ताव पठाएको भए पनि ट्रम्पले आफ्ना प्रतिनिधिहरूको पाकिस्तान भ्रमण रद्द गरिदिएका छन्। ट्रम्पका अनुसार इरानको अफर 'अझै पर्याप्त' छैन।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले भने धम्की र नाकाबन्दीका बीचमा आफूहरू 'थोपिएको वार्ता' मा सहभागी नहुने स्पष्ट पारेका छन्। उनले वार्ता अघि अमेरिकाले लगाएको सामुद्रिक नाकाबन्दी लगायतका अवरोध हटाउनुपर्ने माग राखेका छन्।

यसबीच, युद्धका कारण ट्रम्पको लोकप्रियता घट्दै जाँदा अमेरिकाभित्रै युद्ध अन्त्य गर्न दबाब बढिरहेको छ।

वैशाख १४, २०८३ सोमबार १२:२७:४७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।