अन्तर्वार्ताकै क्रममा ट्रम्प जंगिए, महिला पत्रकारलाई भने- 'तिमीलाई लाज लाग्नुपर्ने हो'
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक अन्तर्वार्ताका क्रममा महिला पत्रकार नोरा ओ'डोनललाई 'लाजमर्दो' काम गरेको भन्दै आलोचना गरेका छन्।
घटना सीबीएस न्युजको चर्चित कार्यक्रम '६० मिनट्स' को हो, जहाँ पत्रकार नोराले ट्रम्पको अन्तर्वार्ता लिइरहेकी थिइन्।
कुराकानीकै बीचमा नोराले ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चलाउने संदिग्ध व्यक्तिको म्यानिफेस्टोको प्रसंग निकालिन्।
उक्त हमलाकारीले आफ्नो मेनिफेस्टोमा ट्रम्पको नाम जेफ्री एप्स्टिनसँग जोडेको थियो। पत्रकार नोराले त्यही कुरा ट्रम्पकै अगाडि पढेर सुनाएकी थिइन्।
यो सुनेपछि आक्रोशित हुँदै ट्रम्पले भने, "मलाई थाहा थियो तिमीले यो पढ्छ्यौ भनेर, किनकि तिमीहरू धेरै खराब छौ। हो, उसले त्यो कुरा लेखेको थियो। तर म न त बलात्कारी हुँ, न त मैले कसैको बलात्कार नै गरेको छु।"
ट्रम्प यतिमै रोकिएनन्। उनले थपे, "तिमीले एउटा बिरामी (मानसिक सन्तुलन गुमाएको) मान्छेको बकवास पढ्यौ ? मलाई ती कुराहरूसँग जोडियो जसको मसित कुनै लेनादेना नै छैन। मलाई यस मामिलामा पूर्ण रूपमा सफाइ दिइसकिएको छ।"
ट्रम्पले कडा शब्दमा भने, "मैले पनि त्यो म्यानिफेस्टो पढेको छु। ऊ एउटा बिरामी मान्छे हो। तर तिमीलाई लाज लाग्नुपर्ने हो कि तिमीले त्यो कुरा पढ्यौ, किनकि म त्यस्तो मान्छे होइन।"
ट्रम्पको आक्रोशपछि पत्रकार नोराले ती शब्दहरू आफ्नो नभई हमलाकारीको भएको भन्दै स्पष्टीकरण दिएकी थिइन्। तर, ट्रम्पले भने यस्ता आधारहीन कुराहरू टेलिभिजनमा पढेर सुनाउनै नहुने भन्दै आफ्नो असन्तुष्टि व्यक्त गरिरहे।
वैशाख १४, २०८३ सोमबार ०७:२५:५० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।