दिल्ली विमानस्थलबाट उड्नै लाग्दा स्विस एयरलाइन्सको जहाजमा आगलागी, आपतकालीन उद्धारका क्रममा ६ यात्रु घाइते
एजेन्सी : भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार बिहान दिल्लीबाट जुरिचका लागि उडान भर्न लागेको स्विस एयरको विमानमा आगो लागेको छ। स्विस एयरलाइन्सको एलएक्स१४७ विमानको इन्जिनमा उडान भर्नु ठीक अघि आगो लागेको थियो।
भारतीय सञ्चारमाध्यमका अनुसार विमान रनवेमा गुडिरहेको बेला इन्जिन नम्बर १ मा समस्या देखिएपछि चालक दलले तुरुन्तै उडान रद्द गर्ने निर्णय गरेका थिए। विमानमा ४ शिशुसहित २२८ यात्रु र चालक दलका सदस्य गरी कुल २३२ जना सवार थिए ।
आपतकालीन स्लाइडको प्रयोग गरेर सबैलाई बाहिर निकाल्ने क्रममा ६ जना यात्री घाइते भएका छन्। घाइतेलाई उपचारका लागि मेदान्त अस्पताल भर्ना गरिएको छ। अन्य यात्रुहरू भने सुरक्षित रहेको स्विस एयरले जनाएको छ ।
यरबस ए३३० विमान आइतबार बिहान करिब १:०८ बजे उडानका लागि रनवेमा गुडिरहेको थियो। विमानको गति १०४ नट्स (करिब १९२ किमि प्रति घण्टा) पुगेका बेला अचानक नम्बर १ इन्जिन फेल भई आगो लागेको थियो। चालक दलका सदस्यहरूले तत्कालै 'टेक अफ' रद्द गर्ने निर्णय गरी विमानलाई रनवे २८ मा रोकेको विमानस्थल स्रोतलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
यस घटनापछि विमानस्थलको रनवे २८ केही समयका लागि बन्द गरिएको थियो।
स्विस एयरले एक विज्ञप्ति जारी गर्दै यस घटनाको छानबिनका लागि कार्यदल गठन गरेको जनाएको छ।
वैशाख १३, २०८३ आइतबार १४:०४:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।