सुकुमबासी बस्तीमा बालेन्द्रको फौजी ‘अप्रेसन’: बन्दुक र डोजरको गर्जनमा पीडितको चित्कार गायब

सुकुमबासी बस्तीमा बालेन्द्रको फौजी ‘अप्रेसन’: बन्दुक र डोजरको गर्जनमा पीडितको चित्कार गायब

काठमाडौं : थापाथलीको सुकुमबासी बस्तीमा रहेको किरियाघर छोडेर अलिकति हिडे पछि ७४ वर्षीय चित्रबहादुर पुलामी मगर भेटिए । उनी शनिवार बिहान टहरा भित्र जाने, केही सामान बाहिर निकाल्ने र आफ्नो टहरा नजिकै आइपुगेको डोजर हेरेर आत्तिइरहेको देखिन्थे।

वरपरबाट सुरक्षाकर्मीले द्धन्द्धग्रस्त मैदानलाई घेरा हालेकै शैलीमा सुकुमबासी बस्ती क्षेत्रमा घेरा हालेका थिए। उनी दोस्रो पटक आफ्नो टहरा भित्र जान खोज्दा एक हुल प्रहरीले उनलाई घेरे। त्यसपछि उनी बस्तीको पर्खालमा आएर उभिएर एक टकले आफ्नो टहरा हेरिरहे।

उनीसँग कुरा गरेका ती प्रहरीहरू उनको टहरामा छिरेर उनको केही पोका सामानहरू बाहिर ल्याउन थाले। उनी टहरा हेर्ने, डोजर हेर्ने, प्रहरी हेर्ने गरेर अलमल परिरहेका थिए। उनले सबै सामान निकाल्न भ्याउनु अगाडि नै उनको टहरामा डोजर चल्यो । डोजरले उनको जस्ता कोट्याउने बित्तिकै उनले एकछिन आँखा बन्द गरे।

“कोठा खोज्नै पाएको छैन। अस्ति भर्खर दश हजार जोडेर नयाँ छाना हालेको थिएँ,” उनले उकेरासँग भने, “त्यत्रो पैसा परेको। डोजर आउँछ/आउँछ भन्ने सुनेको हामी पहिलो पटक यहाँ बस्दा नै हो। अहिले बिहीबार राति माइकमा खाली गर्नु भनेको थियो। एक्लैले सामान बाहिर निकाल्न पनि सकिनँ।”

उनले बताए अनुसार उनी १८ वर्ष देखि यहाँ बस्दै आएका हुन्। सिन्धुली स्थायी ठेगाना भएका उनी डकर्मी काम गर्दै आएका थिए। शारीरिक रूपमा कमजोर भएदेखि उनले खासै काम पाएका छैनन्। श्रीमती र छोरी ज्वाइँ समेत उनीसँगै बस्दै आएका थिए।

ज्वाइँको केही दिन अघि मात्र खुट्टा भाँचिएकाले छोरी र ज्वाइँ अस्पतालमै छन्। टहराको सबै सामान निकाल्न उनी एक्लै भए।

“सबै सामान निकालेर डेरा खोज्ने भनेर बसेको। डोजर त बिहानै पो आयो। भोलीसम्म त खाली गर्ने भन्ने समाचार आएको थियो। अब त टहरा नै पो रहेन,” भत्किरहेको टहरालाई हेर्दै उनी स्तब्ध बने।

उनी पहिला खोला पट्टि बस्दै आएकोमा बागमती सभ्यतामा पर्ने भएको कारण सडक पट्टिको ठाउँमा सरेका रहेछन्।

“गाउँमा भीरमा केही पनि खेती नहुने ठाउँमा सानो जग्गा त थियो। साहुले दुई हजार दिन्छु भने पछि छोडेर काठमाडौँ आएको थिएँ,” उनले भने, “अब सरकारले हाउजिङमा राख्ने भनेर समाचारमा भनेको छ रे । त्यो कहाँ हो पनि थाहा छैन। हाम्रो सामान अट्छ कि अट्दैन त्यो हाउजिङमा। सरकारले छलफलमा राम्रोसँग बुझ्ने गरेर भनेको भए हुने।”

चुपचाप भयो कि बनाइयो ?

प्रधानमन्त्री वालेन्द्र शाहले बुधवार थापाथली लगायतका काठमाडौँ उपत्यकामा रहेका सम्पूर्ण सुकुमबासी बस्ती हटाउन सुरक्षाकर्मीहरूसँग वार्ता गरेको समाचार सुनेसँगै बस्तीका हरेक व्यक्ति त्रासमा थिए। लगत्तै बिहीबार बिहान देखिनै प्रहरीको उपस्थिति बढ्दै गएको र साँझ माइकिङ गरेर बस्ती खाली गर्न निर्देशन दिए।

शुक्रवार दिउँसो उकेराकर्मी थापाथली, शान्तिनगर लगायतका बस्तीमा पुग्दा केहीले आफ्नो सामानहरू ओसारिरहेका देखिन्थे। कोही विना विकल्प सरकारले हटाउन लागेको भनेर प्रतिवाद गर्ने तयारीमा देखिन्थे। सुकुमबासीलाई साथ दिने भनेर विभिन्न अभियन्ताहरू समेत बस्तीमा नपुगेका पनि होइनन्। सामाजिक सञ्जालमा पनि सरकारको यस कार्यप्रति निकै विरोध भएको थियो।

ठ्याक्कै चार वर्ष अघि प्रधानमन्त्री वालेन्द्र, मेयर बालेन हुँदा समेत यस क्षेत्रमा बिना सूचना डोजर चलाइएको थियो। त्यसबेला सबै सुकुमबासी एकजुट हुँदा मेयर बालेन पछि हट्न बाध्य भएका थिए। भर्खरै निर्वाचित मेयर बालेनको वाहवाही भइरहँदा थापाथलीमा भने उनको फोटोमा जुत्ताको माला लगाएर विरोध भएको थियो ।

पुन असफल नहुन प्रधानमन्त्री वालेन्द्रले सुरक्षा निकायलाई कुनै पनि हालतमा दुई दिनमा सुकुमबासी बस्ती खाली गर्न उर्दी जारी गरेका थिए। त्यही अनुसार शनिवार बिहानबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी अनि नगर प्रहरीले थापाथलीसहितका क्षेत्र घेराबन्दी गरिसकेका थिए। सेना ब्याकअपमा देखियो।

बस्तीमा के भइरहेको छ भनेर थाहा पाउन ललितपुरतिरबाट मात्र सम्भव थियो। सञ्चारकर्मीलाई प्रवेश निषेध नै गरियो। सरकारी संयन्त्र अनि प्रधानमन्त्री बालेन्द्रको मिडिया टिमले एकोहोरो आफ्ना पक्षका सामग्री सञ्जालमा फैलाइरहेका थिए।

नौ बजेबाट थापाथली क्षेत्रमा चल्न थालेको डोजर दिउँसो करिब एक बजेसम्म चलिनै रह्यो। बस्तीबाट रोएको र चिच्याएको आवाज नसुनिएको होइन। तर के भइरहेको छ त्यहाँ भनेर स्वतन्त्र रूपमा हेर्न सक्ने अवस्था थिएन। लगभग सबै टहरा भत्काए पछि थापाथलीका सुरक्षाकर्मी ट्रकका ट्रक शान्तिनगरतिर निस्किए।

सुरक्षाकर्मी गएपछि चित्र बहादुर पुलामी मगरसँग फेरि उकेराकर्मीको भेट भयो। उनी नकुच्चिएको छाना र बाँस तान्दै गरेको भेटिए। उनी बोल्न सक्ने अवस्थामा थिएनन्। रातभर डर र त्रासले नदिएका उनको अनुहारमा मलिन थियो।

“खाना के खानु। घर नै रहेन। अब खाना कसरी खाने,” यति भनेर उनी एकोहोरो डोजरले कुल्चिएका आफ्ना सामानहरू उठाउनतिर लागे।

प्रहरी हटेपछि कन्टेन्ट क्रियटरको त्रास सुरु भयो। हरेक व्यक्ति मोबाइल तेर्स्याउँदै प्रश्नको वर्षा गर्न सक्रिय भए। सक्कली सुकुमबासी कि हुकुमवासी?, पुरानो घर कहाँ हो?, कति रोपनी जग्गा छ? जस्ता प्रश्न सोधेर केराकार गर्नेहरूको हुलै पस्यो बस्तीमा।

“कहाँबाट आएको, किन आएको । साँच्चिकैको सुकुम्बासी हो कि, नक्कली सुकुम्बासी हो” भन्दै टहरा अगाडि एक समूह घेरामा परेका थिए राम विलास महतो। उनी निकै थकित र त्रसित देखिन्थे। तर भ्युजका लोभी सेल्फ कन्टेन्ट क्रियटरहरुले उनलाई प्रश्नबाट घोच्न छाडेका थिएनन्। उनी आजित भएर थचक्क भुँइमा बसे। मोबाइलमा भिडियो खिच्नेहरू ‘नक्कली सुकुम्बासी’ भन्दै हाँस्दै त्यहाँबाट गए।

पीडितको आवाज खोइ ?

एक बजेदेखि डोजर चलन थालेको शान्तिनगरको बस्तीको अवस्था पनि सामान्य थिएन। कसैले प्रतिवाद नगरे पनि तीनै तहको प्रहरीसँगै सेना समेत बस्तीमा घुमिरहेको र बन्दुक तेर्साएर सडकमा तैनाथ भएका देखिए।

थापाथलीमा टहरा भए पनि शान्तिनगरमा बागमती खोलाको किनारमै पनि ढलानको घरहरू थिए। त्यहाँ पनि पुरै बस्ती खाली भइसकेको थिएन। प्रहरी र नगर प्रहरी आफै घरघर छिरेर सामान बाहिर सार्दै डोजर जोतेको देखिन्थ्यो।

थापाथलीमा जस्तो सानो र टहराको बस्तीमा समेत हजारौँको सङ्ख्यामा देखिएको प्रहरी शान्तिनगर जस्तो ठुलो र बाक्लो बस्ती भएको ठाउँमा सुरक्षाकर्मीको संख्या झन् बढी थियो नै । पत्रकारलाई त्यहाँ पनि बस्ती भित्र पस्न दिईएन। समाचार संकलन गर्न त्यहाँ पुगेका पत्रकारहरू टाढैबाट डोजरलाई फोकस गरेर फोटो खिच्नमै सीमित भए।

प्रधानमन्त्री वालेन्द्रको राजनीतिज्ञ सल्लाहकार समेत रहेका कलाकार असीम शाहका अनुसार थापाथलीमा एक सय ४३, शान्तिनगरमा चार सय ७६, गैरीगाउँमा एक सय ६२, गोठाटारमा ७७ र मनोहरा टोलमा १३ गरी आठ सय ७१ अनधिकृत घरधुरी छन्। 

थापाथलीको सबै संरचना हटाइएको छ। तर उनीहरू कहाँ छन् सार्वजनिक भएको छैन।  काठमाडौँ महानगरपालिकाले जनाए अनुसार शनिवार साँझ सवा छ बजे सम्ममा जम्मा ६८ परिवारको मात्र लागत संकलन भएको छ। जस मध्ये ३४ परिवार र १ सय ४१ जनालाई सुन्दरीघाटस्थित राधास्वामी सत्सङ्ग आश्रममा पठाइएको छ।

वैशाख १२, २०८३ शनिबार २२:५०:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।