‘परालको आगो’ले पायो सोलो रिलिजको अवसर, देशभर डेढ सय शो
काठमाडौं : सुशील पोखरेलको लगानीमा निर्माण भएको फिल्म ‘परालको आगो’ देशभरका हलमा प्रदर्शनमा आएको छ। शुक्रबारदेखि प्रदर्शनमा आएको फिल्मले देशभरका डेढ सयभन्दा बढी शो पाएको छ।
फिल्म गुरुप्रसाद मैनालीको ‘नासो’ कथासंग्रहमा सङ्ग्रहित चर्चित कथा ‘परालको आगो’बाट प्रेरित भएर निर्माण गरिएको हो। विद्यालयको पाठ्यक्रममा समेत समावेश रहेको कथामा आधारित रहेर निर्माण गरिएको फिल्मप्रति दर्शकको चासो देखिएको निर्माण पक्षको भनाइ छ।
पछिल्लो समय हलमा ‘सोलो रिलिज’ (एक्लै प्रदर्शन) को अवसर कमैले पाउने गरेकोमा यस फिल्मले भने त्यो अवसर पाएको छ। ‘बुलाकी’ निर्देशक लक्ष्मण सुनारको निर्देशनमा तयार भएको फिल्ममा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, शंकर आचार्य, ज्याक श्रेष्ठ, किशोर भण्डारी, सरिता भण्डारी, मन्जिला बानियाँ लगायतका कलाकारको अभिनय छ।
सुशील पोखरेलको लगानी र सुशील देवकोटाको पटकथा तथा संवाद रहेको फिल्मले श्रीमान्-श्रीमतीबीचको माया र झगडाको कथा प्रस्तुत गर्छ। १३५ मिनेट लामो यस चलचित्रले सेन्सर बोर्डबाट ‘युनिभर्सल’ (सबैले हेर्न मिल्ने) प्रमाणपत्र पाएको छ। फिल्मको भिएफएक्स समिर मियाँ र सत्यम रानाले तयार पारेका हुन्।
एकल प्रदर्शनमा आएको यो फिल्मलाई आइतबारसम्मको सार्वजनिक बिदाले व्यावसायिक रूपमा फाइदा पुग्ने देखिन्छ। अर्को साता भने स्वस्तिमा खड्का अभिनीत फिल्म ‘लाली बजार’ प्रदर्शनमा आउने तयारीमा छ।
वैशाख ११, २०८३ शुक्रबार १९:००:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।