माया भनेकै यस्तो होलाको प्रदर्शन मिति तय

माया भनेकै यस्तो होलाको प्रदर्शन मिति तय

काठमाडौं : फिल्म ‘माया भनेकै यस्तो होला’को प्रदर्शन मिति घोषणा गरिएको छ। अभिनेत्री रेखा थापाको निर्देशनमा निर्माण भएको यो फिल्म आगामी भदौ २६ गतेबाट प्रदर्शनमा आउने छ।

निर्माण पक्ष र वितरकहरूबिच भएको आपसी सहमति र सम्झौता अनुसार फिल्मको प्रदर्शन मिति तय भएको हो। यसअघि तीजको अवसर पारेर प्रदर्शनमा आउने जानकारी दिए निर्माण पक्षले ठोस मिति तोकेको थिएन।

वितरकहरूसँगको पछिल्लो चरणको छलफलपछि तीजको विशेष अवसर र कुशे औँसी (बुबाको मुख हेर्ने दिन)का दिन फिल्म प्रदर्शन गर्न लागिएको जानकारी दिइएको छ। 

फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठसँगै पूर्व मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्व मिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ। विशेष भूमिकामा पूर्व मिस नेपाल उषा खड्गीको पनि अभिनय छ।

निर्माण टिमले फिल्मका दुई वटा पोस्टर सार्वजनिक गरेको थियो। सार्वजनिक गरिएका दुई पोष्टरमा कलाकारहरूको भावुक र रोमान्टिक अवतार देखाइएको थियो। गत चैत्र २८ गते २८ औँ दिनमा छायाकंन सम्पन्न गराएको यो फिल्मको हाल पोस्टको काम भइरहेको छ।

ध्रुव लम्सालको पटकथा लेखन रहेको फिल्मले सुमधुर प्रेम कथाका माध्यमबाट सामाजिक भावना र परिवेशलाई चित्रण गर्ने भनिएको छ। लेखक लम्साल १० वर्षको अन्तरालपछि यसै सिनेमामार्फत लेखनमा फर्किएका हुन्। 

वैशाख ११, २०८३ शुक्रबार १८:४५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।