‘बदल्यौं कांग्रेस, बदल्छौं देश भन्ने नारा फेयर एण्ड लवलीको विज्ञापनजस्तो’
काठमाडौं : नेपाली कांग्रेसका नेता इन्दुप्रकाश शर्माले पार्टी तत्काल नफुटे पनि युवा र पाका पुस्ताका नेताहरूबीच चर्को अन्तरद्वन्द्व सुरु हुने दाबी गरेका छन्।
वि.सं. २०५८ मा पार्टी दुई चिरा पर्दा ठूलो क्षति व्यहोरेको विगत स्मरण गर्दै उनले अब कांग्रेस नफुट्ने तर यसको मौलिकता मरिसकेकाले पुनर्जीवन दिनुपर्ने औँल्याए। उनले अब कांग्रेसभित्र युवा एकातिर र पाका पुस्ताका नेताहरू अर्कोतिर हुने अवस्था आइसकेको बताए।
‘कांग्रेस फुट्दैन, तर युवा र पाका पुस्ताबीच अन्तरद्वन्द्व भने सुरु हुन्छ,’ शर्माले भने, ‘यद्यपि, केही शक्तिहरूले चलखेल गर्ने सम्भावना रहेकाले सानो समूह भने चोइटिन सक्छ।’
लोकतन्त्रको सुन्दर पक्ष ‘संवाद’ भए पनि कांग्रेसभित्र संवादहीनताको अवस्था रहेको उनको भनाइ छ। नेविसङ्घका पूर्वकेन्द्रीय सदस्यसमेत रहेका शर्माले पार्टी सभापति गगनकुमार थापा संवाद गर्ने मुडमा नरहेको आफूले अनुभव गरेको सुनाए।
भारतीय नेताहरू राजीव गान्धी र अटल विहारी बाजपेयीबीचको सुमधुर सम्बन्ध र संवादको उदाहरण दिँदै उनले सभापति थापाका कमजोरीहरू औँल्याए। फागुन २१ गतेको निर्वाचनअघि नै सबै पक्षका नेताहरूसँग संवाद गर्न अटेरी गरेर थापाले ठूलो गल्ती गरेको उनको दाबी छ।
‘निर्वाचन अगावै सभापति थापाले सबै समूहका नेताहरूसँग संवाद गरेको भए आठदेखि १० सिट थपिने थियो। तर उहाँ संवाद गर्न हिचकिचाइरहनुभएको छ, जुन लोकतन्त्रको सुन्दरता होइन,’ उनले भने, ‘अटल विहारी र राजीव गान्धीबीच वैचारिक घोचपेच प्रशस्त हुन्थ्यो, तर निरन्तर सुमधुर संवाद पनि हुन्थ्यो। इतिहास पल्टाएर हेर्ने हो भने उहाँहरूबाट हामीले धेरै कुरा सिक्न सक्छौँ।’

पार्टी र जनताबीच सूचना आदानप्रदानमा ठूलो कमजोरी रहेको बताउँदै नेता शर्माले सुमधुर सम्बन्धका लागि सञ्चार महत्त्वपूर्ण हुने औँल्याए।
कांग्रेसको ‘बदल्यौं कांग्रेस, बदल्छौँ देश’ भन्ने नाराप्रति कटाक्ष गर्दै उनले 'कपीपेस्ट'को राजनीतिले माथि पुग्न नसकिने टिप्पणी गरे।
‘यो नारा त मलाई ०६२/६३ सालको आन्दोलनताका ठूला होर्डिङ बोर्डमा राखिएको 'फेयर एन्ड लवली'को विज्ञापनजस्तो पो लाग्छ। नारामा न कुनै सिर्जना छ, न त अपनत्व नै,’ शर्माले भने, ‘नारा सुन्दा कार्यकर्ताको रगत उम्लिनुपर्छ र रौँ ठाडो हुनुपर्छ। तर, यसमा त्यस्तो कुनै अनुभूति नै गर्न सकिएन।’
यही तरिकाले नेपाली कांग्रेस नबदलिने र देश पनि बदल्न नसकिने उनको भनाइ छ।
‘सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाको कार्यशैलीमा मैले खासै भिन्नता पाएको छैन। जनताले के भिन्नता भेट्लान् र?’ उनले प्रश्न गरे, ‘नबदलिएको कांग्रेसले देश बदल्न सक्दैन।’
यतिबेला देशले फड्को मार्नुपर्ने आवश्यकता रहेको बताउँदै उनले पाका नेताहरूलाई सक्रिय राजनीतिबाट विश्राम लिएर गाउँ फर्कन सुझाव दिए। अवकाशपछि पनि अवसरको खोजीमा हिँड्दा पार्टीले थप क्षति व्यहोरेको उनको तर्क छ।
‘अमेरिकामा जर्ज वासिङ्टन राष्ट्रपति भइसकेपछि आफ्नो मातृभूमि गएर बसे। शेरबहादुर देउवादेखि पूर्णबहादुर खड्काहरू अब 'रिटायर्ड' भइसक्नुभयो। उहाँहरू जन्मगाउँ फर्किनुपर्छ र अभिभावक बनेर बस्नुपर्छ,’ उनले भने, ‘देउवा डडेल्धुरा नै जानुपर्छ र खड्का सुर्खेत नै फर्किनुपर्छ। अनि मात्र गाउँदेखि कांग्रेसको सङ्गठन निर्माण हुन्छ।’
अब पुराना पुस्ताले नयाँ पुस्ताका शिक्षित युवाहरूलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्ने र राजनीतिमा पढेलेखेका युवा आए मात्र देश बन्ने शर्माको विश्वास छ।
नेपाल न्यूज बैंकले शर्मासँग गरेको कुराकानीमा आधारित
वैशाख १०, २०८३ बिहीबार १०:३१:०६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।