विराटनगरमा आज कांग्रेसको कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा, सभापति थापा सहभागी हुँदै

विराटनगरमा आज कांग्रेसको कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा, सभापति थापा सहभागी हुँदै

विराटनगर : नेपाली कांग्रेसको कोशी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम आज विराटनगरमा हुँदैछ। कार्यक्रममा सहभागी हुन पार्टी सभापति गगन थापा आजै विराटनगर जाँदैछन्।

बिहान १०ः३० बजेदेखि सुरु हुने समीक्षा कार्यक्रममा पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरण, निर्वाचन परिणामको समीक्षा र आगामी रणनीतिबारे छलफल हुने पार्टीकी सहमहामन्त्री डा. डिला सङ्ग्रौलाले जानकारी दिइन्।

कार्यक्रममा कोशी प्रदेशका केन्द्रीय पदाधिकारी तथा सदस्य, संघीय र प्रदेश सांसद, जिल्ला तथा क्षेत्रीय सभापतिसहित अघिल्लो निर्वाचनका प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको सहभागिता रहनेछ।

बैठकमा स्थानीयदेखि प्रदेश तहसम्म संगठनको अवस्था, चुनावी परिणाम, कमीकमजोरी र सुधारका सम्भावनाबारे प्रत्यक्ष सुझाव संकलन गरिनेछ। यसका साथै, १५औं महाधिवेशनको तयारी, क्रियाशील सदस्यता वितरण र कार्यकर्ताको सक्रियता बढाउने विषयमा पनि छलफल हुने बताइएको छ।

कांग्रेसले यसअघि गण्डकी, लुम्बिनी, बागमती र मधेस प्रदेशमा यस्तै समीक्षा बैठक सम्पन्न गरिसकेको छ। चुनावी हार–जितको विश्लेषणमा मात्र सीमित नराखी यसलाई संगठन पुनर्जागरण अभियानका रूपमा अघि बढाइएको कांग्रेसले जनाएको छ।

वैशाख ९, २०८३ बुधबार ०७:३५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।