इरान-अमेरिका तनाव: युद्धविराम सकिनै लाग्दा 'रणमैदानमा नयाँ रणनीति' अपनाउने इरानको चेतावनी

इरान-अमेरिका तनाव: युद्धविराम सकिनै लाग्दा 'रणमैदानमा नयाँ रणनीति' अपनाउने इरानको चेतावनी

एजेन्सी : इरान र अमेरिकाबीच जारी तनावका बीच आगामी बुधबार युद्धविरामको समय समाप्त हुँदैछ। युद्धविरामको समयसीमा नजिकिँदै गर्दा इरानले यदि युद्ध पुनः सुरु भएमा आफूहरू ‘युद्धमैदानमा नयाँ रणनीति’ का साथ प्रस्तुत हुने चेतावनी दिएको छ।

इरानी संसदका सभामुखले सामाजिक सञ्जालमार्फत इरानले पछिल्लो दुई हप्तामा नयाँ सैन्य रणनीतिहरू तयार पारेको र 'धम्कीको छायामा' कुनै पनि वार्ता स्वीकार नगर्ने स्पष्ट पारेका छन्। उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि युद्धविराम उल्लंघन गरेको र नाकाबन्दी लगाएको आरोप समेत लगाएका छन्। 

अर्कोतर्फ, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार समाप्त हुने युद्धविरामको अवधि थपिने सम्भावना ‘निकै कम’ रहेको बताएका छन्। उनले सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत आफू वार्ताका लागि कुनै दबाबमा नरहेको र अमेरिकाको स्थिति बलियो रहेको दाबी गरेका छन्। ट्रम्पले ‘स्ट्रेट अफ हर्मुज’ गरिएको नाकाबन्दीका कारण इरानले दैनिक ५० करोड डलर बराबरको क्षति व्यहोर्नु परिरहेको समेत दाबी गरेका छन्। 

पाकिस्तानमा तयारी तीव्र, इरानको उपस्थिति अनिश्चित
 पाकिस्तानको राजधानी इस्लामावादमा वार्ताको तयारी भइरहेको छ। अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्स मंगलबार पाकिस्तान प्रस्थान गर्ने कार्यक्रम छ। यद्यपि, उक्त वार्तामा आफ्नो प्रतिनिधिमण्डल पठाउने विषयमा इरानले हालसम्म कुनै औपचारिक पुष्टि गरेको छैन। इरानी राज्य सञ्चालित सञ्चारमाध्यमले इस्लामावादमा इरानी टोली पुगिसकेको भन्ने खबरहरूलाई 'अफवाह' भन्दै खण्डन गरेको छ।

बीबीसीका अनुसार इस्लामाबादका सडकहरूमा ‘इस्लामाबाद वार्ता’ लेखिएका पोस्टरहरू टाँसिएका छन् भने सुरक्षा जाँच कडा पारिएको छ।

इरानको कमजोर आर्थिक अवस्था 
लामो समयदेखिको प्रतिबन्ध र हालैको द्वन्द्वका कारण इरानको आन्तरिक आर्थिक स्थिति अत्यन्तै कमजोर बनेको छ। इरानी अधिकारीहरूले आर्थिक क्षति करिब २७० अर्ब अमेरिकी डलर पुगेको अनुमान गरेका छन्। इरानमा खाद्यान्नको मूल्य पछिल्लो एक वर्षमा दोब्बर भएको र मुद्रा अवमूल्यन र बेरोजगारीले चरम रूप लिएको बिबिसीले उल्लेख गरेको छ। विशेषगरी इन्टरनेट अवरोधका कारण महिलाहरूले चलाएका साना अनलाइन व्यवसायहरू बन्द हुँदा धेरै परिवारको जीविकोपार्जन प्रभावित भएको छ। 

अन्तर्राष्ट्रिय समुदायको चासो
चीनले पाकिस्तानको मध्यस्थता प्रयासलाई 'पूर्ण समर्थन' जनाएको छ। चिनियाँ राजदूतले क्षेत्रीय शान्ति र स्थिरताका लागि पाकिस्तानको भूमिकाको प्रशंसा गरेका छन्। यस्तै, चिनियाँ राष्ट्रपति सी जिनपिङले विश्वव्यापी व्यापारको मुख्य मार्ग मानिने ‘स्ट्रेट अफ हर्मुज’बाट हुने ‘सामान्य आवतजावत’ लाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्। विश्वको तेल आपूर्तिमा महत्वपूर्ण मानिने यो मार्गमा हुने अवरोधले विश्व अर्थतन्त्रमै असर पर्ने भन्दै चीनले सजगता अपनाउन आग्रह गरेको हो।

इरान र अमेरिकाबीचको यो द्वन्द्वले विश्व अर्थतन्त्रमै असर पारेको छ। विशेष गरी 'स्ट्रेट अफ हर्मुज' बन्द हुँदा विश्वव्यापी ढुवानी र तेल आपूर्तिमा ठूलो अवरोध पुगेको छ।

वैशाख ८, २०८३ मंगलबार १७:११:१५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।