इस्लामावाद वार्ताको भविष्य अनिश्चित : ट्रम्पको नाकाबन्दी र इरानको ‘नो-डिल’ रणनीति
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो अभिव्यक्तिले इरानसँगको युद्ध अन्त्य हुने झिनो आशा जगाएको केही घण्टामै परिस्थिति पुनः तनावपूर्ण बनेको छ।
वासिङ्टन र तेहरानबीच जारी आरोप-प्रत्यारोपका कारण तत्काल शान्ति स्थापना हुने सम्भावना न्यून देखिएको हो।
सोमबार राति इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकासँगको अर्को चरणको वार्तामा सहभागी हुने इरानको तत्काल कुनै योजना नरहेको स्पष्ट पारेका छन्।
पाकिस्तानको मध्यस्थतामा इस्लामावादमा दोस्रो चरणको वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गर्ने तयारी गरिरहँदा इरानको यस्तो प्रतिक्रिया आएको हो।
साप्ताहिक पत्रकार सम्मेलनमा प्रवक्ता बकाईले भने, ‘अहिलेसम्म हामीसँग अर्को चरणको वार्ताको कुनै योजना छैन र यस बारेमा कुनै ठोस निर्णय पनि भएको छैन।’
इरानले अमेरिका वार्ताप्रति गम्भीर नभएको आरोप लगाउँदै ‘अमेरिकाको तर्कहीन र काल्पनिक कुरा’का आधारमा अघि बढ्न नसकिने जनाएको छ।
राष्ट्रपति ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा एकातर्फ इरानका नयाँ नेताहरू समझदार भए इरानको भविष्य उज्ज्वल र समृद्ध हुन सक्छ भन्दै सकारात्मक सन्देश दिएका थिए।
तर, केही समयपछि नै उनले कडा चेतावनी दिँदै भनेका छन्, ‘यदि इरानले सम्झौता स्वीकार गर्दैन भने अमेरिकाले इरानका हरेक पावर प्लान्ट र पुलहरू ध्वस्त पारिदिनेछ।’
ट्रम्पले इरानमाथिको जलसेना नाकाबन्दी तत्काल नहटाउने अडान पनि दोहोर्याएका छन्।
नाकाबन्दीका कारण इरानले दैनिक ५० करोड डलर गुमाइरहेको र यो अवस्था लामो समय टिक्न असम्भव रहेको ट्रम्पको दाबी छ। उता, इरानले भने नाकाबन्दी नहटेसम्म वार्तामा नबस्ने अडान राख्दै आएको छ।
दुई देशबीच अप्रिल ८ देखि लागू भएको युद्धविराम आगामी अप्रिल २२ मा सकिँदैछ।
पाकिस्तानले दुवै पक्षलाई वार्ताको टेबलमा ल्याउन तीव्र कूटनीतिक प्रयास गरिरहेको छ।
सोमबार इरानी विदेशमन्त्री अब्बास अरागची र पाकिस्तानी विदेशमन्त्री इसहाक डारबीच टेलिफोन वार्ता भएको थियो। डारले क्षेत्रको शान्ति र स्थिरताका लागि वार्तालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।
तर, विदेशमन्त्री अरागचीले अमेरिकी उक्साहट र पटक-पटकको युद्धविराम उल्लङ्घनले कूटनीतिक प्रक्रियामा बाधा पुर्याएको गुनासो गरेका छन्।
इरानले आफ्नो संवर्धित युरेनियमको भण्डार अमेरिकालाई सुम्पने भन्ने चर्चालाई पनि खारेज गरिदिएको छ।
प्रवक्ता बकाईले भने, ‘जसरी हाम्रो भूमि हाम्रा लागि पवित्र र महत्त्वपूर्ण छ, त्यसरी नै संवर्धित युरेनियम पनि हाम्रा लागि उत्तिकै महत्त्वपूर्ण छ। यो मुद्दा वार्तामा उठेकै छैन।’
यसअघि अप्रिल ११ र १२ मा इस्लामावादमा भएको पहिलो चरणको वार्ता कुनै निष्कर्षविना टुङ्गिएको थियो। अहिलेको बढ्दो अविश्वास र कडा बयानबाजीले दोस्रो चरणको वार्ता नै संकटमा परेको देखिन्छ।
वैशाख ८, २०८३ मंगलबार १३:३८:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।