विराजको ‘१२ गाउँ’को जादु ‘राम नाम सत्य’मा देखिएन, पहाडको सुस्त ब्यापार
काठमाडौं : बाघ अभिनेताका रूपमा प्रचार गरिएको विराज भट्ट अभिनीत फिल्म ‘राम नाम सत्य’ले प्रदर्शनको ९ दिनसम्ममा २ करोड ७८ लाख रुपैयाँको व्यापार गरेको छ। गत चैत २७ गतेदेखि प्रदर्शनमा आएको फिल्मले शनिबार मध्यरातसम्म कुल २ करोड ७८ लाख १८ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको हो।
चलचित्र विकास बोर्डले पछिल्लो शनिबारसम्मको प्रदर्शनरत दुई फिल्म ‘राम नाम सत्य’ र ‘पहाड’ग्रस कलेक्सन सार्वजनिक गरेको हो। सोही अवधिमा यो फिल्म ‘राम नाम सत्य’को ९७ हजार २०५ वटा टिकट बिकेको छ।
यता नयाँ वर्षको दिन पारेर रिलिज भएको फिल्म ‘पहाड’ले शनिबारसम्म १४ हजार ३१८ वटा टिकट बिक्री गर्दै ४६ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ। तुलसी घिमिरे निर्देशित यस फिल्मको कमाई निकै कमजोर हो।
कुन फिल्ममा कुन कलाकार ?
फिल्म ‘राम नाम सत्य’ माइकल चन्दको पटकथा र लेखनमा निर्माण भएको हो। फिल्ममा विराज भट्टका अलावा सुशील श्रेष्ठ,दिव्या रायमाझी, सुनिल थापा,आयुषसिंह ठकुरी, खुशी कार्की, दिनेश डीसी, सुधिर श्रेष्ठ, आशा पौडेल, सन्तोष सरकार, विकास खनाल, रवि, सुशान्त श्रेष्ठ, उपेन्द्र शाही, रामेश्वर शाह, कनिज कोइराला, लोकेन्द्र जीसी, हेमा खड्का लगायतको पनि अभिनय छ। माइकल इन्टरटेनमेन्ट हाउसको प्रस्तुतिमा निर्माण भएको फिल्ममा उपेन्द्र शाही र श्वेता विमलीको लगानी छ।
यता ‘पहाड’पुराना नेपाली फिल्मका निर्देशक तुलसी घिमिरेले निर्माण गरेका हुन्। यस फिल्ममा मदनकृष्ण श्रेष्ठ,अरुण क्षेत्री र नवअभिनेत्री पञ्चमी घिमिरे,सुनिल थापा, विपिन कार्की, रेनुनाथ योगी लगायतको मुख्य भूमिका रहेको छ। ओजस्वी केसी निर्माता रहेको फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका हुन्। यसमा रञ्जित गजमेरले सङ्गीत भरेका छन्। निर्देशक घिमिरेले आठ वर्षअघि फिल्म ‘दर्पणछायाँ २’निर्माण गरेर डुबाएका थिए।
विराजको स्टारडम र तुलसीको विरासत दुवै फिक्का
नेपाली कलाकारहरूमा आफ्नो स्टारडमका भरमा फिल्म चल्छ भन्ने भ्रम देखिँदै आएको छ। अघिल्लो वर्ष विराज भट्टको फिल्म ‘१२ गाउँ’ले १९ करोड ग्रस कलेक्सन गर्यो। त्यो बेलामा उनको फिल्म ‘छक्का पञ्जा’ र ‘ज्वाई साब’सँग भिडेको थियो।
सामाजिक सञ्जालमार्फत दीपकराज गिरी र दीपाश्री निरौलाको फिल्म ‘छक्का पञ्जा’ नहेर्ने भन्दै चर्काचर्की नै परेको थियो। त्यसको प्रभाव हलमा पनि देखियो। व्यापारको हिसाबले छक्का पञ्जालाई १२ गाउँ जित्यो। यसको तुलनामा राम, नाम, सत्यको ब्यापार कमजोर देखिन्छ। समीक्षात्मक रुपमा पनि फिल्म कमजोर देखिएको छ।
कुनै समय नेपाली फिल्म निर्माण र निर्देशनमा एकछत्र राज गरेका तुल्सी घिमिरे निर्देशित फिल्म ‘पहाड’ले दर्शकलाई हलसम्म तान्न सकेको छैन। एक दशकअघि सय दिन मनाउने फिल्म निर्माण गर्ने उनै घिमिरेको फिल्म ‘पहाड’लाई दर्शकले १४ हजार ३१८ वटा टिकट किनेका छन्। जसबाट ४६ लाख ७६ हजार कमाइ भयो।
अब यो फिल्मले हलबाट उत्रिँदाको समयसम्ममा १ करोडको आँकडा छुनेमा आशंका उब्जाएको छ। अर्को साता फिल्मको व्यापार कस्तो रहन्छ, त्यो हेर्न बाँकी छ। यो फिल्म पनि समीक्षामा कमजोर देखिएको छ।
वैशाख ७, २०८३ सोमबार १५:११:२३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।