गृहमन्त्रीको राजीनामा माग्दै उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

गृहमन्त्रीको राजीनामा माग्दै उच्चस्तरीय छानबिन गर्न कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री सुधन गुरुङमाथि लागेका गम्भीर आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन गर्न सरकारसँग जोडदार माग गरेको छ।

विवादित व्यापारिक घरानासँगको सम्बन्ध र सम्पत्ति विवरणमा आफ्नो लगानी लुकाएको तथ्य सार्वजनिक भएसँगै दबाबमा परेका गृहमन्त्रीलाई लिएर कांग्रेसले सोमबार आधिकारिक धारणा सार्वजनिक गरेको हो।

नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री पदमै बहाल रहेको अवस्थामा अनुसन्धान प्रक्रिया प्रभावित हुन सक्ने भन्दै छानबिनका लागि मार्गप्रशस्त गर्नुपर्ने भनेको छ।

‘गृहमन्त्रीसँग सम्बन्धित पछिल्लो प्रकरणले सार्वजनिक चासो मात्र होइन, राजनीतिक नैतिकता र पारदर्शितासँग जोडिएको गम्भीर प्रश्न उठाएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा सम्बन्धित पदमा रहँदै अनुसन्धान प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष प्रभाव पर्ने आशंका उत्पन्न हुनु स्वाभाविक हो। त्यसैले अनुसन्धानलाई स्वतन्त्र, निष्पक्ष र प्रभावरहित बनाउन आवश्यक वातावरण सुनिश्चित गरिनुपर्छ।’

कांग्रेसले मन्त्रीहरूको सम्पत्तिको स्रोतका विषयमा उठेका प्रश्नहरूलाई आफ्नो केन्द्रीय कार्यसमितिको अघिल्लो बैठकले नै गम्भीरतापूर्वक लिने निर्णय गरिसकेको स्मरण गराएको छ। 

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘गृहमन्त्रीसँग सम्बन्धित सम्पूर्ण आरोपहरूको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन प्रक्रिया तुरुन्त प्रारम्भ गरियोस्। यस विषयलाई ढिलासुस्ती, प्रभाव वा ढाकछोपतर्फ लैजाने कुनै पनि प्रयासले सुशासन, नैतिकता र जनविश्वासमाथि गम्भीर आघात पुर्याउनेछ।’

कांग्रेसले आफ्नो यो अडान कुनै व्यक्ति, घटना वा दल विशेषलक्षित नभई समग्र राजनीतिक संस्कार सुधार र पारदर्शिताका लागि भएको दाबी गरेको छ।

के हो पृष्ठभूमि?
पछिल्लो समय गृहमन्त्री सुधन गुरुङ गम्भीर आर्थिक र नैतिक विवादमा तानिएका छन्। बालेन शाह नेतृत्वको सरकारमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट गृहमन्त्री बनेका गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा आफ्नो ठूलो लगानी लुकाएको तथ्य सार्वजनिक भएको थियो।

‘हामी नेपाल’ नामक संस्थामार्फत विवादित शंकर ग्रुप र हाल आर्थिक हिनामिना तथा सम्पत्ति शुद्धीकरण आरोपमा हिरासतमा रहेका दीपक भट्टसँग निकट रहेका गुरुङको ‘स्टार माइक्रो इन्स्योरेन्स’ र ‘लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स’मा सेयर लगानी रहेको पाइएको छ। तर, उनले सम्पत्ति विवरणमा यो कुरा खुलाएका छैनन्।

यसका साथै, भदौ २४ गतेको आन्दोलनमा भएको ध्वंसात्मक गतिविधिमा उनको भूमिका शंकास्पद रहेको र स्रोत नखुलेका निजी गाडीहरू प्रयोग गरेको विषय पनि विवादमा छ। 

यसअघि सोमबार मात्रै ‘जेनजी मुभमेन्ट, नेपाल’ले पनि ‘स्वार्थको बाझिने अवस्था’ रहेको भन्दै गृहमन्त्री गुरुङलाई तत्काल बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान गर्न सरकारसँग माग गरेको थियो।

वैशाख ७, २०८३ सोमबार १३:२२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।