अमेरिकी नौसेनाद्वारा इरानी पानीजहाज नियन्त्रणमा, शान्ति वार्ताको तयारीबीच तनाव बढ्यो
एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको नौसैनिक नाकाबन्दी अन्तर्गत खाडी क्षेत्रमा इरानी झन्डा भएको एउटा कार्गो पानीजहाजलाई नियन्त्रणमा लिएको बताएका छन्।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ‘टोस्का’ नामक उक्त जहाजलाई रोक्न चेतावनी दिइएको तर नमानेपछि अमेरिकी नौसेनाले कब्जामा लिएको जानकारी दिएका हुन्। यस घटनाबारे इरानले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन।
ट्रम्पका अनुसार ९०० फिट लामो र विमानवाहक जहाजजत्तिकै भारी रहेको उक्त जहाजले अमेरिकी नाकाबन्दी तोड्ने प्रयास गरेको थियो।
चेतावनीलाई बेवास्ता गर्दै अघि बढेपछि अमेरिकी नौसेनाले जहाजको इन्जिन रुममा आक्रमण गरेर त्यसलाई रोकेको ट्रम्पले बताएका छन्। अमेरिकी सेन्ट्रल कमाण्डले यस घटनाको भिडियो पनि सार्वजनिक गरेको छ।
अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने विषयमा पाकिस्तानमा दोस्रो चरणको वार्ता हुने चर्चाका बीच यो घटना भएको हो।
ह्वाइट हाउसका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भेन्स, ट्रम्पका सल्लाहकार स्टिभ विटकफ र ज्यारेड कुश्नरको प्रतिनिधिमण्डल वार्ताका लागि सोमबार पाकिस्तान पुग्दैछ। पाकिस्तानले यी दुई देशबीच मध्यस्थता गरिरहेको छ।
तर, इरानले भने वार्तामा सहभागी हुने पुष्टि गरिसकेको छैन। इरानको सरकारी सञ्चारमाध्यमले अमेरिकी नाकाबन्दी जारी रहेसम्म आफ्ना अधिकारीहरूले वार्तामा भाग नलिने बताएको छ।
अमेरिकी नाकाबन्दी र धम्कीपूर्ण भाषाले वार्तामा बाधा पुर्याएको इरानको भनाइ छ। यद्यपि, पाकिस्तानको राजधानी इस्लामावादमा वार्ताका लागि तयारी भइरहेको र होटलहरू खाली गराइएको समाचारमा जनाइएको छ।
विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने प्रमुख समुद्री बाटो स्ट्रेट अफ होर्मुज अहिले बन्द छ। इरानको रिभोलुसनरी गार्डले अमेरिकी नाकाबन्दीलाई युद्धविरामको उल्लङ्घन भन्दै यो बाटो बन्द गरेको हो। बाटो बन्द हुँदा विश्वभर ऊर्जाको मूल्य बढेको छ।
यसैबीच, ट्रम्पले इरानले होर्मुजमा फ्रान्सेली र बेलायती जहाजहरूमा आक्रमण गरेर युद्धविराम तोडेको आरोप लगाएका छन्।
भारतले पनि उक्त क्षेत्रमा भएको गोलीबारीमा भारतीय झन्डा भएका दुईवटा जहाज परेको बताएको छ। आइतबार उक्त बाटो हुँदै जहाजहरूको आवतजावत पूर्ण रूपमा रोकिएको छ।
गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणपछि सुरु भएको द्वन्द्व ५ हप्तापछि २ हप्ते युद्धविराममा परिणत भएको थियो। यो युद्धविराम बुधबार सकिँदैछ। इरानको परमाणु कार्यक्रम र होर्मुज जलडमरुको नियन्त्रण मुख्य विवादका विषय हुन्।
ट्रम्पले चेतावनी दिँदै भनेका छन्, ‘यदि इरान शान्ति सम्झौतामा सहमत भएन भने, इरानका हरेक पुल र बिजुली उत्पादन केन्द्रहरू नष्ट गरिदिनेछौँ।’ उनले इरानले जलमार्ग बन्द गर्ने धम्की दिएर अमेरिकालाई 'ब्ल्याकमेल' गर्न नसक्ने पनि स्पष्ट पारेका छन्।
वैशाख ७, २०८३ सोमबार ११:२१:०३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।