रामेछापमा बाख्रा चराउन गएकी १० वर्षीया बालिकाको लडेर मृत्यु

रामेछापमा बाख्रा चराउन गएकी १० वर्षीया बालिकाको लडेर मृत्यु

रामेछाप : रामेछाप नगरपालिका वडा नम्बर ४, हिमगंगामा बाख्रा चराउने क्रममा लडेर एक १० वर्षीया बालिकाको मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय गणेश श्रेष्ठकी छोरी अन्दाजी १० वर्षीया मनिषा श्रेष्ठ रहेकी छन्।

वैशाख ६ गते दिउँसो ४ बजेतिर उनी आफ्नै घरबाट करिब ६० मिटर पूर्वतर्फ रहेको बारीमा बाख्रा चराउन गएकी थिइन्। सोही क्रममा बारीको डिलबाट करिब ७ मिटर तल खसेर उनी गम्भीर घाइते भएकी थिइन्।

लडेर गम्भीर घाइते भएकी बालिकालाई उपचारका लागि सोही दिन साँझ ६ बजे जिल्ला अस्पताल रामेछापडाँडा पुर्याइएको थियो।

तर, अस्पताल पुर्याएको आधा घण्टामै उपचारको क्रममा उनको मृत्यु भएको अस्पतालमा कार्यरत प्रहरी सहायक हवल्दार रञ्जित खड्काले जानकारी दिएका छन्। हाल बालिकाको शव पोस्टमार्टमका लागि सोही अस्पतालको शवगृहमा राखिएको छ।

घटनाबारे जानकारी पाएलगत्तै वैशाख ७ गते प्रहरी चौकी साँघुटारबाट प्रहरी सहायक निरीक्षक शेष इशाको कमान्डमा एउटा टोली घटनास्थल पुगेको छ। उक्त घटनास्थल साँघुटार प्रहरी चौकीबाट करिब ८ किलोमिटर दक्षिणमा पर्छ।

वैशाख ७, २०८३ सोमबार ०९:५९:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।