तपाईंका पुराना कपडा कसरी पुग्छन् दक्षिण अमेरिकाको मरुभूमिमा?

तपाईंका पुराना कपडा कसरी पुग्छन् दक्षिण अमेरिकाको मरुभूमिमा?

एजेन्सी : बेलायत वा उत्तर अमेरिकामा पुन: प्रयोगका लागि दिइएका पुराना कपडाहरू दक्षिण अमेरिकी देश चिलीको मरुभूमिमा फालिएको पाइएको छ।

चिली विश्वमै पुराना र प्रयोग गरिएका कपडा आयात गर्ने प्रमुख देशहरूमध्ये एक हो। तर, बिक्री नभएका हजारौं टन कपडाहरू वर्षौंदेखि चिलीको सुख्खा मरुभूमिमा यत्तिकै फालिँदै आएका छन्। अहिले भने कानुनमा भएको परिवर्तनसँगै एउटा कम्पनीले यो समस्या समाधान गर्ने प्रयास सुरू गरेको छ।

सरकारी तथ्यांकअनुसार चिलीले हरेक वर्ष करिब १ लाख २३ हजार टन पुराना कपडा आयात गर्छ। यसको मुख्य कारण उत्तरी चिलीमा रहेको ‘इक्विके’ नामक स्वतन्त्र व्यापार क्षेत्र हो। यहाँका व्यापारीहरूले भन्सार वा कर नतिरी सामान आयात गर्न, भण्डारण गर्न र बेच्न पाउँछन्।

अमेरिका, क्यानडा, युरोप र एसियाबाट कन्टेनरमा भरिएर आउने यी कपडाहरू कि त स्थानीय बजारमा बिक्छन् कि अन्य ल्याटिन अमेरिकी देशहरूमा पठाइन्छन्। यसले स्थानीय महिलाहरूलाई कपडा छान्ने र छुट्याउने काम दिएर रोजगारी पनि सिर्जना गरेको छ।

कम गुणस्तरका कपडाहरू ‘अल्टो होस्पिसियो’ सहर नजिकैको खुला बजारमा निकै सस्तो मूल्यमा बेचिन्छन्। तर, मुख्य समस्या नबिकेका कपडाहरूको हो।

मरुभूमिमा फोहोरको डंगुर
व्यापारिक प्रयोजनका लागि ल्याइएका यी कपडाहरूलाई स्थानीय नगरपालिकाको फोहोर फाल्ने ठाउँमा फाल्न पाइँदैन। नियमअनुसार व्यापारीले यी कपडालाई कर तिरेर अन्यत्र बेच्नुपर्छ वा आधिकारिक फोहोर व्यवस्थापन कम्पनीलाई पैसा तिरेर जिम्मा लगाउनुपर्छ।

तर, पैसा बचाउन व्यापारीहरूले ती कपडाहरू कि त जलाउँछन् कि त नजिकैको अटाकामा मरुभूमिमा गैरकानुनी रूपमा लगेर फाल्छन्। हरेक वर्ष करिब ३९ हजार टन कपडा यसरी नै मरुभूमिमा फालिन्छ। मरुभूमिमा जताततै ट्रकले कपडा फाल्ने भएकाले स्रोत-साधनको अभावमा यसलाई रोक्न निकै गाह्रो भइरहेको स्थानीय अधिकारीहरू बताउँछन्।

यो समस्यालाई व्यापारिक अवसरमा बदल्न अहिले नयाँ प्रयास भइरहेको छ। चिलीमा १५ वर्षदेखि काम गरिरहेका टर्कीका व्यवसायी बेकिर कोन्कुरले फालिएका कपडालाई पुन: प्रयोग गर्ने एउटा ठूलो कारखाना बनाउँदै छन्। उनको कम्पनीले मात्रै महिनामा ५० कन्टेनर पुराना कपडा आयात गर्छ।

उनी भन्छन्, ‘हामीले बनाइरहेको कारखानामा पानी वा रसायनको प्रयोग हुने छैन। मेसिनको सहायताले पुराना कपडालाई टुक्र्याएर फाइबरमा परिणत गरिनेछ। यसबाट म्याट्रेस, फर्निचर, गाडीको भित्री भाग र तापक्रम सन्तुलन गर्ने सामग्री बन्नेछन्।’

यो कारखानाले दैनिक २० टन कपडा प्रशोधन गर्ने लक्ष्य राखेको छ।

व्यवसायीले यो कारखाना खोल्नुको अर्को मुख्य कारण चिली सरकारले ल्याएको नयाँ कानुन पनि हो। गत जुलाईमा ल्याइएको कानुनअनुसार अब कपडा बेच्ने, आयात गर्ने वा उत्पादन गर्ने कम्पनीहरू नै ती कपडा पुराना भएपछि त्यसको व्यवस्थापनका लागि जिम्मेवार हुनुपर्नेछ।

यही कानुनको पालना गर्न र व्यापारिक अवसर छोप्न व्यवसायी बेकिरले यस कारखानामा करिब ७० लाख डलर लगानी गरेका छन्। भविष्यमा उनले चिलीभरिबाट र विश्वका अन्य देशबाट पनि फालिएका कपडाहरू ल्याएर प्रशोधन गर्ने योजना बनाएका छन्।

वैशाख ७, २०८३ सोमबार ०७:३८:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।