कांग्रेसको संविधान संशोधन सुझाव समितिले पायो पूर्णता
काठमाडौं : नेपाली कांग्रेसले संविधानको रक्षा र समयानुकूल परिमार्जनका लागि 'संविधान संशोधन अध्ययन तथा सुझाव समिति'लाई पूर्णता दिएको छ।
पार्टी उपसभापति पुष्पा भुषालको संयोजकत्वमा गठित यस समितिमा वरिष्ठ अधिवक्ता र कानुनविद्हरूलाई सदस्यका रूपमा चयन गरिएको छ भने अधिवक्ता राजु कटुवाललाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको गत चैत ११ गते बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको थियो।
कांग्रेसले संविधानलाई गतिशील दस्तावेजका रूपमा लिँदै नागरिक भावना, सुशासन र संघीयताको प्रभावकारी कार्यान्वयनका लागि संशोधन आवश्यक रहेको जनाएको छ।
पार्टीले नेपालको संविधान २०७२ सालमा संविधानसभामार्फत जारी भएको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै यसको रक्षा, कार्यान्वयन र समयानुकूल संशोधन नेपाली कांग्रेसको मूल दायित्व भएको जनाएको छ।
समितिले संविधान निर्माणका क्रममा भएका आन्दोलन, विभिन्न समुदायका माग, संघीयता कार्यान्वयनमा देखिएका चुनौती, सुशासन तथा प्रतिनिधित्वसँग सम्बन्धित विषय, साथै पार्टीको प्रतिज्ञापत्रमा उल्लेखित संविधान संशोधनका एजेण्डाको अध्ययन गर्नेछ।
कांग्रेसले समितिको सुझावका आधारमा संविधान संशोधनबारे आफ्नो स्पष्ट धारणा निर्माण गर्दै अन्य राजनीतिक दल, नागरिक समाज, विशेषज्ञ तथा सरोकारवालासँग राष्ट्रिय संवाद अघि बढाउने जनाएको छ।
वैशाख ६, २०८३ आइतबार १५:०९:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।