बदलियो ‘पाँच पाण्डव’को मुड, दसैं छाडेर तिहारमा आउने

बदलियो ‘पाँच पाण्डव’को मुड, दसैं छाडेर तिहारमा आउने

काठमाडौं : फिल्म ‘पाँच पाण्डव’का निर्देशक वसन्त निरौलाले सुरुवाती समयमै फिल्मको प्रदर्शन मिति दसैंभन्दा एक इन्च पनि नसार्ने अड्डी कसे। 

फिल्म निर्माणको घोषणा हुँदा एकातिर पाँच पाण्डवको छायांकन सम्पन्न हुनेमा आशंका थियो भने अर्कोतिर दसैंमा आधा दर्जन फिल्मले प्रदर्शन मिति तोकिसकेका थिए।

रोहित अधिकारीको ‘छ माया छपक्कै २’, ‘महाराजधिराज’, ‘१२ गाउँ २’ देखि अशोक शर्माको ‘डबल त्रिपल’सम्मले दसैंलाई नै लक्षित गरेर प्रदर्शन मिति तोकेका छन्। ठूला फिल्मको भिडभाडका बीच ‘पाँच पाण्डव’को टिम पनि बलियो देखियो।

फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार र मोडल इभा गिरीको मुख्य भूमिका छ। कलाकारको लामो सूची र प्राविधिक तयारीका कारण निर्माण पक्ष अन्ततः दसैंको अडान छाडेर तिहारमा फिल्म प्रदर्शन गर्न राजी भयो। 

गत चैत २ गते नेपाल-भारत सीमावर्ती शहर काँकडभिट्टाबाट शुभमुहूर्त गरी छायांकन सुरु गरिएको फिल्मको सुटिङ कार्य अझै जारी छ। सुटिङकै क्रममा निर्माण टिमले दसैंको लक्ष्य परिवर्तन गरी फिल्मलाई तिहारमा पुर्याएको हो।

प्रदर्शन मिति तिहारमा सरेसँगै निर्माण पक्ष उत्साहित देखिन्छन्। ‘सोसल ड्रामा’को कथामा निर्माण भइरहेको फिल्मको कथा, पटकथा तथा संवाद रंग पत्रकार सुशील पौडेलले लेखेका हुन्।

फिल्म वितरणको जिम्मा लिएका आरआर फिल्मस्का रोहित कट्टेलले फिल्मको विषयवस्तु (कन्टेन्ट) र कलाकारहरूको बलियो उपस्थितिकै कारण आफूले वितरणको जिम्मेवारी लिएको बताएका थिए। तिहारजस्तो ठूलो चाडमा दर्शकले खोज्ने पूर्ण मनोरञ्जन पाँच पाण्डवले प्रदान गर्ने उनको दाबी छ।

वैशाख ६, २०८३ आइतबार १०:४०:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।