मध्यपूर्वमा शान्ति कायम गर्न मुनिरको कुटनीतिक सक्रियता, आगामी हप्ता अमेरिका-इरानबीच दोस्रो वार्ताको सम्भावना
एजेन्सी : पाकिस्तानी सेनाका कमाण्डर फिल्ड मार्शल असिम मुनिरको तीन दिने इरान भ्रमण शुक्रबार सम्पन्न भएको छ।
तेहरानको भ्रमणमा उनले मध्यपूर्वमा शान्ति कायम गर्न र आगामी हप्ता इस्लामावादमा हुने अमेरिका-इरान दोस्रो चरणको वार्ताको वातावरण बनाउन इरानी राष्ट्रपति, विदेशमन्त्री र सैन्य कमान्डका प्रमुखहरूसँग छलफल गरे।
अपेक्षित अमेरिका-इरान वार्ताको अगाडि भएको भ्रमणले मध्यपूर्वमा शान्ति, स्थिरता र समृद्धिलाई बढवा दिन पाकिस्तानको मध्यस्थतामा ‘समाधानको सहजीकरणको लागि दृढ सङ्कल्प’ देखाएको पाकिस्तानी सेनाले जनाएको छ।
संसदका सभामुख मोहम्मद बाघर गालिबाफ र विदेशमन्त्री अब्बास अराघचीको नेतृत्वमा गत हप्ता संयुक्त राज्य अमेरिकासँग शान्ति वार्ताका लागि इरानी प्रतिनिधिमण्डल इस्लामावाद गएको थियो।
पहिलो चरणको वार्ता कुनै सम्झौता बिना नै समाप्त भएपछि देखिएको अन्योलताको अवस्थामा भएको भ्रमणले थप वार्ताका लागि कुटनीतिक प्रयासलाई जारी राखिनुपर्नेमा जोड दिएको थियो। पछिल्ला केही दिनमा पाकिस्तानका प्रधानमन्त्रीले शान्ति प्रक्रियालाई अगाडि बढाउन साउदी अरब, कतार र टर्कीको भ्रमण गरे।
उनीहरूको पहलले आगामी हप्ता इस्लामावादमा दोस्रो चरणको वार्ता हुने सम्भावना बढेको छ। तेहरानमा फिल्ड मार्शल मुनिरले कूटनीतिक वार्ताका माध्यमबाट वार्ता, तनाव न्यूनीकरण र थाँती रहेका मुद्दाहरूको शान्तिपूर्ण समाधानको आवश्यकतामा जोड दिएका थिए।
वैशाख ५, २०८३ शनिबार १९:१६:१८ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।