सर्वोच्चको फैसला जित-हार होइन, पार्टीलाई एकताबद्ध बनाउने अवसर हो : सभापति थापा
काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई जित-हारको रूपमा नभई पार्टीलाई एकताबद्ध बनाउने अवसरका रूपमा लिनुपर्ने बताएका छन्।
लामो समयदेखिको पार्टीभित्रको कानुनी विवाद अन्त्य भएपछि शनिबार सामाजिक सञ्जालमार्फत उनले यो कुनै व्यक्तिको जित नभई विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको सम्मान भएको स्पष्ट पारे।
‘सम्मानित सर्वोच्च अदालतको निर्णयले पार्टीका सबै साथीहरूलाई एकताबद्ध बनाउँदै पार्टीलाई फेरि बलियो बनाउने साझा यात्रामा अघि बढ्ने वातावरण बनाएको छ,’ उनले भने, ‘यो कुनै जित-हारको विषय होइन, विधि, प्रक्रिया र लोकतान्त्रिक अभ्यासको विषय हो।’
सभापति थापाले अदालतको निर्णयले पार्टीभित्रको एकतालाई थप मजबुत बनाउने आधार दिएको उल्लेख गर्दै सबै नेता, कार्यकर्ता र शुभेच्छुकलाई मतभेद बिर्सेर पार्टी सुदृढीकरणको यात्रामा अघि बढ्न आह्वान गरेका छन्।
यस प्रक्रियामा पार्टी सभापतिको हैसियतले आफ्नो सबैभन्दा ठूलो जिम्मेवारी रहेको स्वीकार गर्दै थापाले आफू त्यसका लागि पूर्ण रूपमा सक्रिय रहने प्रतिबद्धता जनाए। उनले देश तथा विदेशमा रहेका सबैलाई आ-आफ्नो स्थानबाट जिम्मेवार भूमिका निर्वाह गर्दै पार्टीको पुनर्जागरणमा योगदान पुर्याउन आग्रह गरे।
‘पार्टीको सभापतिको हैसियतले यस प्रक्रियामा सबैभन्दा ठूलो जिम्मेवारी मेरो नै हो भन्नेमा म स्पष्ट छु र त्यसअनुसार सक्रिय रूपमा लाग्नेछु’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।
उनले १५औँ महाधिवेशनको प्रक्रिया अघि बढिसकेको जानकारी दिँदै यसलाई पार्टी रूपान्तरण र सुदृढीकरण गर्ने महत्त्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए।
थापाले अग्रजहरूको अनुभव र योगदानको सम्मान गर्दै नयाँ पुस्ताको आकाङ्क्षालाई सम्बोधन गर्न सक्ने र समुन्नत नेपाल निर्माणमा नेतृत्वदायी भूमिका खेल्न सक्ने पार्टी बनाउन सबै एकजुट हुनुपर्ने बताए।
वैशाख ५, २०८३ शनिबार १३:५२:३१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।