इजरायली सेना भन्छ : इरानमा लगभग ११ हजार आक्रमण गर्‍यौँ

इजरायली सेना भन्छ : इरानमा लगभग ११ हजार आक्रमण गर्‍यौँ

एजेन्सी : इजरायली रक्षा बल (आईडीएफ)ले इरानमाथि गरेको बमबारीको नयाँ तथ्यांक सार्वजनिक गर्दै त्यहाँ लगभग १० हजार ८०० वटा आक्रमण गरेको बताएको छ।

अमेरिकास्थित ‘ह्युमन राइट्स एक्टिभिस्ट्स न्युज एजेन्सी’(हराना) का अनुसार अप्रिल ७ सम्म १ हजार ७०१ इरानी सर्वसाधारणको मृत्यु भएको छ।

यो त्यही दिनको तथ्यांक हो, जुन दिन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सर्तसहितको दुई हप्ते युद्धविरामको घोषणा गरेका थिए।

यस्तै, आईडीएफले लेबनानमा पनि १४ हजार ९०० भन्दा बढी आर्टिलरी (तोप) आक्रमण र २ हजार ५०० भन्दा बढी हवाई आक्रमण गरेको जनाएको छ।

इजरायली सेनाले लेबनानका करिब १६५ वटा बहुमन्जिला (धेरै तला भएका) भवनहरूमा निसाना बनाएको पनि बताएको छ।

यता, लेबनानी स्वास्थ्य अधिकारीहरूका अनुसार लेबनानमा ६ हप्तासम्म चलेको द्वन्द्वमा २ हजार १०० जनाको ज्यान गइसकेको छ।

त्यस्तै, १० लाखभन्दा बढी मानिस अर्थात् लेबनानको कुल जनसंख्याको करिब २० प्रतिशत (पाँच भागको एक भाग) नागरिक विस्थापित भएका छन्।

वैशाख ५, २०८३ शनिबार १०:४२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।