इरानको चेतावनी : अमेरिकी नाकाबन्दी जारी रहे स्ट्रेट अफ होर्मुज बन्द गर्छौ, ट्रम्पका सात वटै दाबी झुट
एजेन्सी : इरानी संसदका सभामुख मोहम्मद बाकर कालिबाफले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई झुटो बोल्ने व्यक्तिको संज्ञा दिएका छन्। उनले ट्रम्पले एक घण्टामा सातवटा दाबी गरेको र ती सबै दाबी झुटो भएको बताएका छन्।
सामाजिक सञ्जाल ‘एक्स’ मार्फत प्रतिक्रिया दिँदै कालिबाफले अमेरिकालाई कडा चेतावनी समेत दिएका छन्।
उनले लेखेका छन्, ‘यदि इरानी बन्दरगाहहरूमा अमेरिकी नाकाबन्दी जारी रह्यो भने होर्मुज जलडमरु (स्ट्रेट अफ होर्मुज) खुला रहनेछैन।’
ट्रम्पले शान्ति सम्झौता नभएसम्म इरानी बन्दरगाहहरूमा अमेरिकी नौसेनाको नाकाबन्दी कायमै रहने भनी दिएको अभिव्यक्तिको जवाफमा इरानी सभामुखले यस्तो चेतावनी दिएका हुन्।
कालिबाफले आफ्नो पोस्टमा अगाडि लेखेका छन्, ‘होर्मुज जलडमरु खुला रहन्छ या बन्द हुन्छ र त्यसका नियमहरू के हुनेछन् भन्ने कुरा सामाजिक सञ्जालले होइन, त्यहाँको यथार्थ अवस्थाले तय गर्नेछ। अब होर्मुज जलडमरुबाट हुने आवागमन इरानले तोकेको बाटो र इरानकै अनुमतिका आधारमा मात्र हुनेछ।’
उनले झुटो बोलेर युद्ध जित्न नसकिने र यस्तो व्यवहारले कुनै पनि वार्ता निष्कर्षमा नपुग्ने पनि स्पष्ट पारेका छन्।
स्मरण रहोस्, अमेरिकासँग वार्ता गर्नका लागि पाकिस्तानको इस्लामाबाद पुगेको इरानी प्रतिनिधिमण्डलमा सभामुख कालिबाफ पनि सहभागी थिए।
वैशाख ५, २०८३ शनिबार ०९:१४:२६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।