सङ्घर्ष र विवशताको लालीबजार
काठमाडौं : बादी समुदायका महिलाको सामाजिक सङ्घर्ष र आमा-छोरीको सम्बन्धमा आधारित कथामा निर्माण भएको फिल्म ‘लालीबजार’को ट्रेलर सार्वजनिक भएको छ।
काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरले आमा र छोरी बीचको कथा देखाइएको छ। फिल्ममा अभिनेत्री स्वस्तिमा खड्काले बादी समुदायकी महिलाको भूमिका निर्वाह गरेकी छन्।
ट्रेलरमा बादी समुदायका महिलाले भोग्नुपर्ने सामाजिक बाध्यता, विवशता, सङ्घर्ष र ती सबैलाई चिरेर अघि बढ्ने आमा-छोरीको भावनात्मक यात्रालाई प्रस्तुत गरिएको छ। अभिनेत्री खड्काले फिल्मलाई आफ्नो करियरकै एक विशेष र सामाजिक मुद्दालाई सशक्त रूपमा उठाउने फिल्मको रूपमा उल्लेख गरेकी छन्।
निर्देशक यम थापाका अनुसार बादी समुदायको सामाजिक परिवेशलाई चित्रण गरेको फिल्मले समाजलाई गम्भीर विषयमा सोच्न बाध्य बनाउने छ। बर्दियाको राजापुरमा छायांकन गरिएको फिल्मको पटकथा र संवाद निर्देशक थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार पारेका हुन्।
षट्कोण आट्र्सको ब्यानरमा निर्मित फिल्ममा स्वस्तिमाका साथै रवीन्द्र सिंह बानियाँ, मुकुन्दकुमार श्रेष्ठ, बालकलाकार समाइरा थापा र नवकलाकारद्वय प्रशंसा सुवेदी तथा विशाल देवकोटाको प्रमुख भूमिका छ। फिल्ममा प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको सङ्गीत रहेको छ।
मयाक्स दीपेश खत्री र रवीन्द्रसिंह बानियाँ निर्माता तथा प्रदीप भट्टराई कार्यकारी निर्माता रहेको फिल्म ‘लालीबजार’ वैशाख १८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
वैशाख ४, २०८३ शुक्रबार १८:०१:०५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।