इन्डोनेसियामा हेलिकप्टर दुर्घटना, आठ जनाको मृत्यु
एजेन्सी : इन्डोनेसियाको बोर्नियो टापुको घना जङ्गलमा एउटा निजी हेलिकप्टर दुर्घटना हुँदा चालक दलका दुई सदस्यसहित छ जना यात्रुको मृत्यु भएको छ।
म्याथ्यू एयर नुसान्टाराको स्वामित्वमा रहेको हेलिकप्टरले पश्चिम कालिमान्टन प्रान्तमा उडान भरेको करिब पाँच मिनेट पछि हवाई यातायात नियन्त्रणसँग सम्पर्क गुमाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
विमानमा एक जना मलेसियाली नागरिकसमेत सवार रहेको नागरिक उड्डयन महानिर्देशक लुकमान एफ. लाइसाले बताएका छन्।
सूचनाको आधारमा संयुक्त खोजी र उद्धार टोलीले विमान दुर्घटनास्थल पत्ता लगाएको उल्लेख गर्दै हेलिकप्टरमा सवार सबै यात्रु तथा चालक दलका सदस्यहरूको मृत्यु भएको पुष्टि भएको छ।
यसअघि जनवरीमा मत्स्यपालन मन्त्रालयले भाडामा लिएको टर्बोप्रप हेलिकप्टर सुलावेसी टापुको पाहाडमा दुर्घटना हुँदा विमानमा सवार सबै १० जनाको मृत्यु भएको थियो।
वैशाख ४, २०८३ शुक्रबार ११:२८:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।