पाँच फिल्म, एउटै मिति

पाँच फिल्म, एउटै मिति

काठमाडौं : नेपाली बक्स अफिसमा महाभिडन्तका लागि प्रायः दसैं-तिहारको समयलाई सबैभन्दा उपयुक्त सिजन मानिन्छ।

फिल्म प्रदर्शनको लागि धेरै फिल्मकर्मीको रोजाइ यही समय प्राथमिकता रहन्छ। तर, आगामी भदौ १२ गते (जनै पूर्णिमा)को मितिले चाडपर्वको सिजनलाई समेत फिक्का बनाइदिने देखिएको छ। 

अभिनेत्री नीता ढुङ्गाना र प्रियंका कार्कीका फिल्मदेखि निर्देशक मनोज पण्डितको निर्देशकीय फिल्मसम्म गरी पाँच ठूला नेपाली फिल्महरू सोही दिन एकैसाथ हलमा उत्रिने भएका छन्। वैशाख महिनामै भदौका लागि तयार भएको यो प्रदर्शन सूचीले नेपाली हलमा चर्को र चुनौतीपूर्ण प्रतिस्पर्धा हुने देखिन्छ। 

संगीतकारको ‘बेहुली’

नेपाली सुगम संगीत तथा फिल्मका दर्जनौं सफल गीत दिएका संगीतकार अर्जुन पोखरेल ‘बेहुली’मार्फत निर्माणमा होमिएका छन्। गत चैत १२ गते पोखरेलले ललितपुरस्थित कार्यविनायक मन्दिरमा फिल्म ‘बेहुली’को शुभ मुहूर्त गरे। त्यहिबेलामा उनले फिल्म आगामी भदौ १२ गतेबाट प्रदर्शन गर्ने घोषणा गरे।

उनको लगानीमा निर्माण भएको फिल्म बेहुलीलाई सशान कँडेलले निर्देशन गरिरहेका छन्। प्रताप राणाको निर्माण रहेको फिल्मको कथा माधव शर्माले लेखेका हुन्।

फिल्ममा पारस बम ठकुरी (कुलब्वाय) र दिव्या रायमाझी देखिनेछन्। साथै सुशान्त कार्की, पदम तामाङ, सन्तोष बानियाँ, सरिता गिरी, लोकेन्द्र लेखक, सबिन कट्टेल र समायरा थापा मगर लगायतको पनि अभिनय रहनेछ। 

कार्यकारी निर्माता सुमन थिङ तामाङ र सह-निर्माताहरू दुर्गा खरेल र रमेश सिलवाल रहेको ‘बेहुली’मा शंकर कोइराला क्रिएटिभ प्रोड्युसरको रूपमा छन्। नरेन्द्र मैनालीको छायाङ्कन रहेको फिल्मको सम्पादन विकास दाहालले गर्नेछन्।

नीताको ‘पार्वती’ 

नीता ढुङ्गाना फिल्मस्को ब्यानरमा निर्माण फिल्म ‘पार्वती’ पनि भदौ १२ गते नै प्रदर्शनमा आउँदै छ। अहिले फिल्मको धमाधम छायांकन चलिरहेको छ। नीता ढुङ्गानाले निर्देशन गरिरहेको यो फिल्ममा मुख्य भूमिका पनि उनैको छ। नीताका साथमा दीपाश्री निरौला, अशोक दर्जी, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेल लगायतको अभिनय रहनेछ।

निर्देशक ढुङ्गानाकै कथा रहेको फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन्। सुदिप बरालको डिओपी, सरोज अधिकारी क्रियटिभ निर्देशक रहेको यो फिल्म कार्यकारी निर्माता प्रोडक्सनको काम हेर्दै आएका शंकर पाण्डे छन्। निर्माताका रूपमा युवा ज्योतिषले परिचित हरिहर अधिकारी हुन्। फिल्मको सम्पादन साहिल खानले गर्दै छन्।

मुकुन र रिचाको ‘जदौँ’

अन्जन शर्मा र काजी लिम्बुको संयुक्त निर्देशनमा बनेको फिल्म ‘जदौ’ पनि भदौ १२ गते प्रदर्शन हुनेछ। फिल्ममा मुकुन भुसाल, रिचा शर्मा,नीति शाह, प्रभात पाल ठकुरी र राजश्री थापा फरक-फरक भावमा प्रस्तुत गरिएको छ। 

सिल्भर स्क्रीन इन्टरटेन्मेन्टसँगको सहकार्यमा समिश्रण मुभिज एन्ड इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्मका यस फिल्मले अन्तरजातीय प्रेम सम्बन्धको कथामा निर्माण भएको फिल्मको सह निर्मातामा रामराजा सुवेदी, सुमित्रा देवकोटा, नारायण शास्त्री, अर्जुन खड्का र गोकुल केसी छन्। श्याम तामाङले खिचेको फिल्मको स्क्रीप्ट निर्देशक काजी स्वयमले लेखेका हुन।

फिल्ममा सिपी पुडासैनी (धतुरे), विनोद न्यौपाने, सन्ध्या श्रेष्ठ, खड्गबहादुर पुन (खबपु), विशाल पहाडी, सुन्दर धिताल, नरेश पौडेल लगायतका कलाकारको अभिनय छ। रामजी लामिछानेको कोरियोग्राफी रहेको फिल्मका गीतमा अर्जुन पोखरेल र बाबुल गिरीको संगीत छ। वितरण एनसिजीएनले गर्दैछ भने हाइ टेक इन्टरटेन्मेन्ट डिजिटल पार्टनर रहेको छ।

प्रियंकाको ‘मास्टर्नी’

चुपचापसँगले फिल्म निर्माण र टिजर सार्वजनिक गरिएको फिल्म ‘मास्टर्नी’ पनि भदौ १२ गतेबाट नै रिलिज हुँदै छ। मंगलबार निर्माण टिमले चुपचापसँगले फिल्मको प्रदर्शन मिति र फस्टलुक टिजर सार्वजनिक गरेको हो।
 
भारतीय फिल्म निर्देशक सुभेन्दु घोषको निर्देशनमा प्रियंकाले निर्माण गरेको यो फिल्ममा उनी स्वयंको मुख्य भूमिका रहेको छ। साथै उनका अलवा सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुप विक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, विशाल पहारी, रक्षा थापाले पनि अभिनय गरेकी छन्। आयंका फिल्मस्को ब्यानरमा निर्माण गरिएको यो फिल्मको निर्मातामा प्रियंकाका अलवा आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्की रहेका छन्।

मनोजको ‘ग्रेट’
 
भदौ १२ गतेको डेटलाई निर्देशक मनोज पण्डितले ताकेका छन्। उनको सामाजिक सञ्जाल हेर्ने हो भने हालै निर्माण गरिएको फिल्म ‘ग्रेट’ भदौ १२ गतेबाट प्रदर्शनमा आउँदै छ। मनोजले भदौ १२ गते भन्दै पोस्टर सार्वजनिक गर्दै आएका छन्। यो फिल्म पनि प्रदर्शनमा आयो भने एकै दिन आधा दर्जन नेपाली फिल्म हलमा लाग्नेछन्।

फिल्ममा शोभिता सिम्खडाको मुख्य भूमिका रहेको छ। उनका अलवा फिल्ममा विशाल पोखरेल, देवेन्द्र नेपाल, अग्रिम पण्डित, रिस्ता बस्नेत, दीपक भट्टराई, टंक चौलागाईं लगायतको अभिनय रहेको छ। साथै निर्देशक आफै विशेष भूमिकामा देखिनेछन्। विवेक लामाको छायांकन भएको यो फिल्मलाई लगानी सोफिया थापाको छ। फिल्म ‘एक’को निर्माण भएको लामो समय पनि मनोज पुनः निर्देशनमा फर्किएका हुन्। 

पाँच वटा फिल्म एकै साथ हलमा लाग्दा एउटा दर्शकले कम्तीमा २५ सय खर्च बोक्नुपर्ने हुन्छ। चैतमा हलमा लागेको फिल्मको यति हरिबिजोग देखेपछि त्यो समयमा  पाँच फिल्मले दर्शक कति कमाउँछन्। त्यतिबेला नै हेर्नुपर्ला। यो समयमा तीन दिन बिदा रहेकाले लगानी उठ्नेमा निर्माण पक्षको अनुमान रहेको देखिन्छ।  
 

वैशाख ३, २०८३ बिहीबार २२:२५:५७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।