राजनीतिको 'भुङ्ग्रो'मा पोलिएका प्रकाश 'परालको आगो'बाट खोज्दै शीतल!

राजनीतिको 'भुङ्ग्रो'मा पोलिएका प्रकाश 'परालको आगो'बाट खोज्दै शीतल!

काठमाडौं : प्रदर्शनको तयारीमा रहेको फिल्म ‘परालको आगो’को निर्माण टोली यतिबेला प्रचारप्रसारमा व्यस्त छ।

वैशाख ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मको हालै ललितपुरको लविम मलस्थित क्युएफएक्स हलमा आयोजित एक कार्यक्रममा ट्रेलर सार्वजनिक गरियो। कार्यक्रममा फिल्मका मुख्य कलाकारहरू सौगात मल्ल, सुहाना थापा, सिर्जना अधिकारी र प्रकाश सपुतसहित निर्माण टोलीको उपस्थिति थियो।

ट्रेलर सार्वजनिक कार्यक्रममा निर्देशक लक्ष्मण सुनारले फिल्म निर्माणका क्रममा आएका चुनौतीबारे चर्चा गरे। उनले एक समय प्रकाश सपुतलाई फिल्ममा नराख्न आफूमाथि विभिन्न पक्षबाट दबाब आएको खुलासा गरे।

प्रकाशद्वारा निर्देशित फिल्म ‘वसन्त’ व्यावसायिक रूपमा सफल नहुनु र तत्कालीन प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटघाट तथा प्रशंसाका कारण उत्पन्न विवादले गर्दा उनलाई नलिन दबाब आएको निर्देशक सुनारले बताए।

सोही विषयमा प्रकाश सपुतले आफू स्वयम्‌ले पनि फिल्मबाट बाहिरिने प्रस्ताव राखेको जानकारी दिए। आफू विवादमा तानिएको र अभिनय रहेको अघिल्लो फिल्मले अपेक्षित सफलता नपाएपछि निर्मातालाई जोखिम नलिन सुझाव दिएको उनले बताए।

सपुतले भने, “गत वर्ष ‘वसन्त’रिलिज र राजनीति कन्ट्रोभर्सीपछि मैले हाम्रो सुशील (निर्माता सुशील पोखरेल)सरलाई र रोहित अधिकारी सरलाई, हाम्रो माइतीघरको प्रोड्युसर। मेरो दुई वटा फिल्म फ्लोरमा जान मात्र बाँकी थियो, मैले साइन गरेर बसेको। मैले दुवै जनालाई एउटै म्यासेज पठाएको थिए। सबै कुरा भयो, मलाई लिएर कतिको कन्फिडेन्ट हुनुहुन्छ। यदि हुनुहुन्न भने चाहिँ, म तपाईंहरुलाई पुनर्विचार गर्न अनुरोध गर्छु है। एक पटक सोच्नु, म त काम गर्न ओपन नै छु। भनेको थिए।”

कार्यक्रममा पत्रकारहरूले सपुतलाई उनको राजनीतिक आबद्धताबारे पनि प्रश्न गरेका थिए। उनी फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट समानुपातिक उम्मेदवार समेत रहेका थिए। कलाकारिताबाट राजनीतिमा प्रवेश गर्दा आइपर्ने सहजता वा असहजता र यसले करिअरमा पार्ने प्रभावबारे सोधिएको प्रश्नमा उनले सङ्क्षिप्त जवाफ दिए। 

उनले भने, “यो परालको आगो जस्तै भइसक्यो। बल्यो,त्यसपछि निभिनै सक्यो। अब हामी फेरि नयाँ परालको कुन्यूँ हाल्दैछौं।” विगतमा विभिन्न सिर्जना र अभिव्यक्तिका कारण विवादमा परिरहने सपुतले यस पटक भने थप विवादबाट बच्न चाहेको देखिन्थ्यो।

सुशील पोखरेलद्वारा निर्मित यस फिल्ममा सौगात मल्ल, सुहाना थापा, प्रकाश सपुत र सिर्जना अधिकारीको मुख्य भूमिका रहेको छ। फिल्म ‘परालको आगो’आधुनिक कथाका कथाकार गुरुप्रसाद मैनालीको ‘नासो’ कथासङ्ग्रहमा सङ्ग्रहित ‘परालको आगो’ कथाबाट लिइएको हो। फिल्म आगामी वैशाख ११ गतेदेखि प्रदर्शन हुँदैछ।

वैशाख ३, २०८३ बिहीबार १७:४६:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।