भदौ २६ मा रेखा भर्सेस दयाहाङ

भदौ २६ मा रेखा भर्सेस दयाहाङ

काठमाडौं : आगामी भदौ २६ गते दुई नेपाली फिल्म प्रदर्शनमा आउने भएका छन्। तीजको अवसर पारेर रेखा थापाको निर्देशनमा निर्माण भएको 'माया भनेको यस्तो होला' र माओत्से गुरुङ निर्देशित 'पेन्सन पट्टा'बीच हलमा प्रतिस्पर्धा हुने देखिएको छ।

दुई वर्षअघि अभिनेत्री रेखा थापा र अभिनेता दयाहाङ राईले एउटै फिल्ममा सहकार्य गर्ने चर्चा चल्यो। तर, उनीहरुबीच एउटै पर्दामा अटाउने कुरा वास्तविकतामा पुरा भएन। अब भने यी दुई कलाकार फरक-फरक फिल्ममार्फत एकै मितिमा हलमा भने देखिने छन्।

रेखा थापाले डेढ महिनाअघि नै आफ्नो फिल्मको प्रदर्शन मिति भदौ २६ गतेका लागि घोषणा गरेकी थिइन्। यता, अभिनेता दयाहाङ राईको जन्मदिनको अवसर पारेर वैशाख १ गते निर्माण टिमले 'पेन्सन पट्टा'को रिलिज मिति घोषणा गरेको छ। निर्माण पक्षका अनुसार यो फिल्म भदौ २७ गते (शुक्रबार) बाट प्रदर्शनमा आउनेछ।

निर्देशक एवं कलाकार माओत्से गुरुङले आफ्नो फिल्मको मिति तय गर्दा सोही समयमा अन्य फिल्म प्रदर्शन हुने जानकारी आफूलाई नभएको बताए। उनले भनेका छन्, “अहिलेसम्म यो मितिमा हामी मात्रै छौं। वितरक र निर्माण टिमसँगको सल्लाहमा नै प्रदर्शन मिति घोषणा गरेका छौं। राम्रो मिति नै रोजेका छौं। व्यापार पनि राम्रो हुन्छ भन्नेमा विश्वात छौं।”

'माओत्से गुरुङ फिल्मस्'को ब्यानरमा निर्माण भएको ‘पेन्सन पट्टा’मा निर्देशक गुरुङकै लगानी र लेखन रहेको छ। फिल्ममा दयाहाङ राई मुख्य भूमिकामा छन् भने सुनील थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ लगायतका कलाकारको अभिनय रहेको छ।

यता, रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’मा मदनकृष्ण श्रेष्ठ, सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ, नीति शाह, उषा खड्गी, दिल श्रेष्ठ, लक्ष्मी गिरी, विशाल पहाडी लगायतको अभिनय छ।

‘दिया एण्ड अमु फिल्मस्’को ब्यानरमा निर्माण भएको यो फिल्म 'हिम्मतवाली' र 'मालिका' पछि रेखाको तेस्रो निर्देशकीय फिल्म हो। हरि नारायण श्रेष्ठ र माया देवी श्रेष्ठ निर्माता रहेका छन् भने पटकथा पत्रकार ध्रुव लम्सालले लेखेका हुन्।

वैशाख ३, २०८३ बिहीबार १६:१७:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।