बेलायतको भिसा थप्न ‘गे’ भएको नाटकदेखि एचआईभी पोजेटिभको झुटा रिपोर्टसम्म

बेलायतको भिसा थप्न ‘गे’ भएको नाटकदेखि एचआईभी पोजेटिभको झुटा रिपोर्टसम्म

एजेन्सी : बेलायतमा बस्नका लागि नक्कली ‘गे’ बनेर शरणार्थी दाबी गर्ने ठूलो धन्दा चलिरहेको खुलासा भएको छ।

बीबीसीको एक गोप्य अनुसन्धानले कानुन व्यवसायी र सल्लाहकारहरूले हजारौं पाउन्ड लिएर आप्रवासीहरूलाई समलिङ्गी भएको नाटक गर्न सिकाइरहेको पत्ता लगाएको छ।

विशेषगरी पाकिस्तान र बंगलादेशका विद्यार्थी वा पर्यटक भिसा सकिएका व्यक्तिहरूलाई स्वदेश फर्किएमा ‘ज्यानको खतरा छ’ भन्दै नक्कली शरणार्थी बन्न सल्लाह दिने गरिन्छ।

पाकिस्तान र बंगलादेशजस्ता देशहरूमा समलिङ्गी सम्बन्धलाई गैरकानुनी मानिन्छ, जसको फाइदा उठाउँदै बेलायतमा शरण माग्ने गरिएको हो।

यसरी हुन्छ नक्कली प्रमाणको खेती
बीबीसीका रिपोर्टरहरू नक्कली विद्यार्थी बनेर भिसा सकिन लागेको बहानामा इमिग्रेसन सल्लाहकारहरूलाई भेट्न पुगेका थिए। अनुसन्धानका क्रममा यस्तो वास्तविकताको खुलासा भएको हो।

एउटा ल फर्मले नक्कली दाबी तयार पार्न ७ हजार पाउन्डसम्म मागेको थियो। उनीहरूले दाबी अस्वीकृत हुने सम्भावना ‘धेरै कम’ भएको आश्वासन समेत दिएको समाचारमा उल्लेख छ।

यस्तै, कतिपय नक्कली शरणार्थीहरूले मेडिकल प्रमाण जुटाउन आफू डिप्रेसनमा रहेको नाटक गर्दै डाक्टरकहाँ जाने गरेका छन्। एक जनाले त शरण पाउनका लागि आफूलाई एचआईभी भएको झुटो दाबीसमेत गरेका थिए।

यसका अलावा सल्लाहकारहरूले शरणार्थी दाबीलाई बलियो बनाउन समलिङ्गी क्लबमा गएर तस्बिर खिचाउन र नक्कली पार्टनर बनाएर ‘शारीरिक सम्बन्ध भएको’ झुटो चिठी लेख्न सिकाउने गरेको पाइएको थियो।

त्यस्तै, एक सल्लाहकारले रिपोर्टरलाई शरण पाएपछि पाकिस्तानबाट आफ्नी श्रीमतीलाई बेलायत ल्याउन र उनलाई पनि नक्कली ‘लेस्बियन’ बनाएर शरण दाबी गर्न सिकाएको विषय समेत फेला पारेको समाचारमा उल्लेख छ।

‘यहाँ कोही पनि गे छैनन्’
लन्डनको एउटा कम्युनिटी सेन्टरमा वरसेस्टर एलजीटी नामको संस्थाले आयोजना गरेको कार्यक्रममा १७५ भन्दा बढी मानिस उपस्थित थिए।

संस्थाको वेबसाइटमा ‘वास्तविक समलिङ्गीहरूलाई मात्र स्वागत छ’ भनिए पनि उपस्थित धेरैले आफूहरू गे नभएको स्वीकारे। एक सहभागीले भने, ‘यहाँ १ प्रतिशत पनि गे छैनन्।’

बीबीसीले गोप्य रूपमा भेटेकी तनिसा नामकी एक सल्लाहकारले रिपोर्टरलाई भनिन्, ‘यहाँ कोही पनि सक्कली छैनन्। यहाँ बस्ने एउटै बाटो यही हो र सबैले यही तरिका अपनाइरहेका छन्।’

उनले नक्कली अन्तर्वार्ता दिन, तस्बिर खिचाउन र झुटो कथा कण्ठ गर्न सिकाएकी थिइन्।

यस्तै, लन्डनको ‘कोनाट ल’ फर्मका सल्लाहकार अकिल अब्बासीले पनि नक्कली प्रमाण जुटाउन सिकाउँदै ७ हजार पाउन्ड मागेका थिए।

कानुनी कारबाहीको चेतावनी
यस विषयमा बेलायतको गृह मन्त्रालयका प्रवक्ताले प्रणालीको दुरुपयोग गर्ने जोकोहीलाई कडा कारबाही गरिने चेतावनी दिए।

उनले भने, ‘प्रणालीको दुरुपयोग गर्न खोज्ने जोसुकैलाई कडा कानुनी कारबाही गरिनेछ र बेलायतबाट निकाला गरिनेछ।’

तथ्यांकअनुसार, सन् २०२३ मा यौनिकताको आधारमा शरण माग्नेहरूमध्ये ४२ प्रतिशत पाकिस्तानी नागरिक थिए। जबकि कुल शरणार्थी आवेदनमा पाकिस्तानीको हिस्सा मात्र ६ प्रतिशत थियो।

लेबर पार्टीकी सांसद जो ह्वाइटले यसरी झुटो दाबी गर्न सिकाउने ल फर्म र सल्लाहकारहरूमाथि प्रहरीले तत्काल अनुसन्धान गर्नुपर्ने माग गरेकी छन्।

सरकारले हालै शरणार्थी नियममा परिवर्तन गर्दै अब अस्थायी सुरक्षा मात्र दिने र हरेक ३० महिनामा अवस्थाको समीक्षा गर्ने नियम ल्याएको छ। 

यद्यपि, गिरोहहरू भने यो नयाँ नियमले पनि आफ्नो ‘नक्कली धन्दा’ नरोकिने दाबी गर्दै ग्राहक खोज्न सक्रिय नै रहेको अनुसन्धानले देखाएको छ।

वैशाख २, २०८३ बुधबार १४:४९:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।