नक्कली लेटरप्याड प्रयोग गरेको भन्दै पूर्णबहादुर खड्कालाई कांग्रेसले सोध्यो ७ दिने स्पष्टीकरण
काठमाडौं : नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका पूर्व उपसभापति पूर्णबहादुर खड्कालाई सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।
बुधबार पार्टी केन्द्रीय कार्यालयमा बसेको समितिको बैठकले खड्कालाई ७ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।
खड्काले पार्टीको नक्कली लेटरप्याड प्रयोग गरी आफूसँग नभएको जिम्मेवारी उल्लेख गरेर अनाधिकृत वक्तव्य जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
यसअघि चैत १४ गते पार्टीको लेटरप्याडको दुरुपयोग गरी अनाधिकृत वक्तव्य जारी गरेको भन्दै चैत १८ गते बसेको अनुशासन समितिको बैठकले एक पटकका लागि सचेत गराएको थियो।
विज्ञप्तिमा भनिएको छ, 'अनुशासन समितिबाट सचेत गराउँदा गराउँदै पनि पुनः मिति २०८२/१२/३० गतेका दिन नेपाली कांग्रेसको नक्कली लेटरप्याड वनाएर प्रयोग गरी आफुसंग नभएको जिम्मेवारी उल्लेख गर्दै आफु पार्टीको जिम्मेवारीमा छु भनी नेपाली कांग्रेसको पूर्व उपसभापति पूर्णबहादुर खड्काद्धारा अनधिकृत रुपमा मिति २०८२/१२/३० गते प्रेस विज्ञप्ती जारी गर्ने कार्य पार्टीको विधान विपरित देखिएकोले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ७ (सात) दिने स्पष्टिकरण सोध्ने निर्णय गर्दछ।'
यस्तै बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा अनुशासन उल्लंघन गर्ने सदस्यहरू विरुद्ध उजुरी दिने समय सीमा पनि थप गरेको छ।
यसअघि चैत मसान्तसम्म समय सिमा तोकेकोमा एक महिनाको समय थप गरेर बैशाख मसान्तसम्मको समय तोकिएको छ।
समितिले तोकिएको समयभित्र प्राप्त नभएका उजुरीहरूमा कुनै पनि कारबाही प्रक्रिया अगाडि नबढाइने समेत स्पष्ट पारेको छ।

वैशाख २, २०८३ बुधबार १४:२३:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।