नौ हजार सक्कली कागजपत्र लिन आउन ट्राफिक प्रहरीको अनुरोध, नआए लाइसेन्स खारेजीको प्रक्रिया अघि बढाउने
चितवन : जिल्ला ट्राफिक कार्यालयले जाँचका क्रममा नियन्त्रणमा लिइएको सवारीचालक अनुमतिपत्रसहितका कागजपत्र फिर्ता लैजान अनुरोध गरेको छ।
ट्राफिक नियम उल्लङ्घनको अभिलेख प्रणाली लागू भएसँगै जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका आठ हजार ९८२ वटा कागजपत्र फिर्ता लैजान कार्यालयले सर्वसाधारणसँग आग्रह गरेको हो।
कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार २०८० देखि ट्राफिक प्रहरीले ‘ट्राफिक भायोलेसन रेकर्ड सिस्टम’ राख्न सुरू गरेसँगै कागजात सङ्कलन भएको हो।
विभिन्न मिति र स्थानमा गरिएको जाँचका क्रममा चौबीस घण्टे पूर्जी प्राप्त गरेका तर तोकिएको समयभित्र जरिवाना दाखिल नगरेका सवारी चालक तथा धनीहरूलाई १० दिनभित्र कागजपत्र लिन आग्रह गरिएको हो।
उनका अनुसार सवारीचालक अनुमतिपत्र, ब्लुबुक, मार्ग अनुमतिजस्ता सक्कली कागजात कार्यालयमा छ।
कतिपय आगलागीका क्रममा नष्ट भएको भए पनि त्यस्ता कागजातका लागि समेत नयाँ बनाउन सिफारिस गर्न सकिने भएकाले राजस्व बुझाएर लिन आग्रह गरिएको हो।
कार्यालयले यस आर्थिक वर्षमा मात्रै यस्ता कागजपत्र दुई हजार २४८ नियन्त्रणमा लिएको र पछि सवारी धनी लिन नआएको जनाएको छ।
दश दिनभित्र कागज फिर्ता नलगे सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ को उपदफा ५ बमोजिम एक महिनासम्म निलम्बन गरिने उनले बताए।
उफदफा ५ मा भनिएको छ, ‘तोकिएको समयसम्म पनि अधिकार प्राप्त अधिकारी वा सम्बन्धित प्रहरी कार्यालय समक्ष त्यस्तो जरिवानाको रकम नबुझाउनेलाई अधिकार प्राप्त अधिकारीले एक हजार रुपैयाँसम्म जरिवाना गरी त्यस्तो व्यक्ति चालक भए चालक अनुमतिपत्र, सवारी धनी वा व्यवस्थापक भए सवारीको बाटो इजाजतपत्र वा निजहरूले यातायात सेवा सञ्चालन गर्न प्राप्त अनुमतिपत्र बढीमा एक महिनासम्मको लागि निलम्बन गर्न सक्नेछ।’
यस्तै उफदफा (६) उपदफा (५) बमोजिम निलम्बन गरिएको अवधिसम्म पनि जरिवाना नबुझाएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालक अनुमतिपत्र, बाटो इजाजतपत्र वा यातायात सेवा सञ्चालन गर्न प्राप्त अनुमतिपत्र खारेज गर्न सक्नेछ।
वैशाख २, २०८३ बुधबार १०:५०:१५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।