हिन्द महासागरको अण्डमानमा डुङ्गा पल्टिँदा २५० रोहिंग्या र बंगलादेशी बेपत्ता

हिन्द महासागरको अण्डमानमा डुङ्गा पल्टिँदा २५० रोहिंग्या र बंगलादेशी बेपत्ता

एजेन्सी : संयुक्त राष्ट्रसंघको शरणार्थी र आप्रवासन निकायका अनुसार हिन्द महासागरको अण्डमान सागरमा एउटा डुङ्गा पल्टिँदा करिब २५० जना रोहिंग्या र बंगलादेशी नागरिक बेपत्ता भएका छन्। बेपत्ता हुनेमा बालबालिकाहरू पनि रहेका छन्।

उक्त माछा मार्ने डुङ्गा बंगलादेशबाट मलेसिया जाँदै थियो। तीव्र हावाहुरी, खराब मौसम र क्षमताभन्दा बढी यात्रु भएका कारण डुङ्गा डुबेको एजेन्सीहरूले जनाएका छन्।

बंगलादेशको कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई बताएअनुसार, अप्रिल ९ मा उनीहरूको एउटा जहाजले उक्त डुङ्गाबाट ९ जनालाई जीवितै उद्धार गरेको थियो। यद्यपि, डुङ्गा कहिले पल्टिएको थियो भन्ने यकिन समय अझै खुल्न सकेको छैन।

रोहिंग्या म्यानमारको एउटा अल्पसंख्यक समुदाय हो। सन् २०१७ मा भएको सैन्य दमन र हिंसापछि ठूलो संख्यामा उनीहरू ज्यान जोगाउन बंगलादेश भागेर आएका थिए। बहुसंख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिंग्या मुस्लिमहरूलाई नागरिकता दिइँदैन।

बंगलादेशका शरणार्थी शिविरहरूमा अवस्था खराब भएकाले धेरै रोहिंग्याहरू जोखिमपूर्ण समुद्री यात्रा गरेर मलेसिया पुग्ने प्रयास गर्छन्। उनीहरू मलेसियालाई आफ्नो लागि सुरक्षित गन्तव्य मान्छन्।

जीवितै उद्धार गरिएका मध्ये एक जना ४० वर्षीय रफिकुल इस्लामका अनुसार, उद्धार हुनुअघि उनीहरू करिब ३६ घण्टासम्म समुद्रमै तैरिएर (पौडिएर) ज्यान जोगाउन संघर्ष गरेका थिए।

डुङ्गाबाट पोखिएको तेलका कारण आफ्नो शरीर जलेको पनि उनले बताए। मलेसियामा राम्रो जागिर पाइने आश देखाएपछि आफू यो जोखिमपूर्ण यात्रामा निस्किएको रफिकुलले बताए।

वैशाख २, २०८३ बुधबार १०:०१:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।