३० वर्षपछि इजरायल र लेबनानबीच पहिलो पटक सीधा वार्ता

३० वर्षपछि इजरायल र लेबनानबीच पहिलो पटक सीधा वार्ता

एजेन्सी : लेबनान र इजरायलबीच तीन दशकभन्दा बढी समयपछि पहिलो पटक प्रत्यक्ष (सीधा) कूटनीतिक कुराकानी भएको छ।

यसलाई निकै महत्त्वपूर्ण कदम मानिएको छ। यसको मुख्य उद्देश्य इजरायल र इरानको समर्थन पाएको ‘हिजबुल्लाह’ समूहबीच चलिरहेको लडाइँ रोक्नु हो।

यो वार्ता गराउन मध्यस्थता गरिरहेका अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसलाई ऐतिहासिक अवसर भनेका छन्। यो वार्ताले हिजबुल्लाहको प्रभाव कम गर्न मद्दत गर्ने उनको भनाइ छ।

अमेरिकाले जारी गरेको विज्ञप्तिअनुसार दुवै देश सीधा कुराकानी गर्न तयार भएका छन्। तर, कुराकानी कहिले र कहाँ हुने भन्ने टुंगो लागिसकेको छैन।

इजरायलले सबै गैर-सरकारी हतियारधारी समूहलाई हतियार बिसाउन लगाउन चाहेको बताएको छ, जसको सीधा संकेत हिजबुल्लाहतिर हो।

अर्कोतर्फ, लेबनानले चाहिँ युद्ध रोकिनुपर्ने र देशमा बढिरहेको मानवीय संकट समाधानका लागि ठोस कदम चालिनुपर्ने माग राखेको छ। यी दुई देशबीच औपचारिक कूटनीतिक सम्बन्ध छैन। यसअघि यस्तो सीधा कुराकानी सन् १९९३ मा मात्र भएको थियो।

मार्च २ देखि लेबनानमा इजरायलले सैन्य कारबाही सुरु गरेयता २ हजारभन्दा बढी मानिसको ज्यान गइसकेको छ। इरानमा अमेरिका र इजरायलले आक्रमण गरेको केही दिनपछि यो कारबाही सुरु भएको थियो।

मंगलबार वासिङ्टनमा दुई पक्षबीच कुराकानी भइरहँदा यता हिजबुल्लाहले इजरायल र लेबनानमा रहेका इजरायली सैनिकहरूमाथि कम्तीमा २४ वटा आक्रमण गरेको दाबी गरेको छ।

इजरायलले आफ्नो कारबाही हिजबुल्लाहलाई कमजोर बनाउन र सिध्याउनका लागि भएको बताएको छ। यसअघि सन् २०२३ र २०२४ मा पनि गाजा युद्धको समयमा यी दुई पक्षबीच भिडन्त भएको थियो।

वैशाख २, २०८३ बुधबार ०७:२८:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।