टर्कीमा १९ वर्षीय पूर्व विद्यार्थीद्वारा अन्धाधुन्ध गोली प्रहार; १६ जना घाइते, आक्रमणकारीद्वारा आत्महत्या

टर्कीमा १९ वर्षीय पूर्व विद्यार्थीद्वारा अन्धाधुन्ध गोली प्रहार; १६ जना घाइते, आक्रमणकारीद्वारा आत्महत्या

एजेन्सी : टर्कीको दक्षिण-पूर्वी प्रान्त सानलिउर्फास्थित एक माध्यमिक विद्यालयमा मंगलबार १९ वर्षीय किशोरले अन्धाधुन्ध गोली प्रहार गर्दा १६ जना घाइते भएका छन्। 

आक्रमण लगत्तै ती किशोरले आफैँलाई गोली हानी आत्महत्या गरेको स्थानीय अधिकारीहरूले पुष्टि गरेका छन्।

गृह मन्त्रालयका अनुसार घाइते हुनेमा १० जना विद्यार्थी, ४ शिक्षक, एक जना प्रहरी र एक जना विद्यालय क्यान्टिनका कर्मचारी रहेका छन्। घाइतेहरूलाई तत्काल स्थानीय अस्पताल पुर्याइएको थियो भने गम्भीर चोट लागेका पाँच जनालाई थप उपचारका लागि सान्लिउर्फा शहरको मुख्य अस्पतालमा स्थानान्तरण गरिएको छ।

घाइतेहरूको पछिल्लो अवस्थाबारे विस्तृत विवरण आउन बाँकी छ।

सानलिउर्फा गभर्नर हसन सिल्डाकका अनुसार, उक्त विद्यालयकै पूर्व विद्यार्थी रहेका आक्रमणकारीले 'सटगन' प्रयोग गरी सिभेरेक जिल्लामा रहेको विद्यालयमा आक्रमण गरेका थिए। उनले पहिले विद्यालयको प्राङ्गणबाट अन्धाधुन्ध गोली चलाउन सुरु गरी पछि भवनभित्र प्रवेश गरेका थिए। प्रहरी नियन्त्रणमा लिन प्रयास गरिरहेका बेला उनले आफैंलाई गोली हानी आत्महत्या गरेका हुन्।

गभर्नर सिल्डाकले आक्रमणकारीको कुनै पुरानो आपराधिक रेकर्ड नभएको र विद्यालयलाई यसअघि प्रहरीले 'सुरक्षित' श्रेणीमा राखेको स्पष्ट पारेका छन्।

घटनास्थलबाट सार्वजनिक भिडियो फुटेजमा विद्यार्थीहरू भाग्दै गरेको र एम्बुलेन्स तथा प्रहरी टोली घटनास्थलतर्फ पुगेको दृश्य देखिएको छ।

वैशाख १, २०८३ मंगलबार १८:३१:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।