पोपमाथिको टिप्पणी ‘अस्वीकार्य’ भन्दै ट्रम्पविरुद्ध कड्किइन् इटलीकी प्रधानमन्त्री मेलोनी

पोपमाथिको टिप्पणी ‘अस्वीकार्य’ भन्दै ट्रम्पविरुद्ध कड्किइन् इटलीकी प्रधानमन्त्री मेलोनी

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इसाई धर्मावलम्बीका सर्वोच्च नेता पोप लियो (१४ औँ) प्रति गरेको टिप्पणीलाई इटलीकी प्रधानमन्त्री जोर्जिया मेलोनीले ‘अस्वीकार्य’ बताएकी छन्।

राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा एक लामो पोस्ट लेख्दै पोपलाई अपराधको मुद्दामा ‘कमजोर’ र विदेश नीतिका लागि ‘अत्यन्तै खराब’ भनेर आलोचना गरेका थिए।

ट्रम्पको उक्त टिप्पणीको प्रतिवाद गर्दै प्रधानमन्त्री मेलोनीले भनिन्, ‘पोप क्याथोलिक चर्चका प्रमुख हुन्। उनले विश्वमा शान्तिको अपील गर्नु र हरेक प्रकारका युद्धको निन्दा गर्नु पूर्ण रूपमा सही र स्वाभाविक कुरा हो।’

मेलोनी आफैँ पनि क्याथोलिक हुन् र उनी इटलीको दक्षिणपन्थी गठबन्धन सरकारको नेतृत्व गर्छिन्। उनलाई ट्रम्पको निकट सहयोगी मानिन्छ।

यसअघि ट्रम्पले पोपको आलोचना गर्दा मेलोनी मौन बस्दै आएकी थिइन्, जसका कारण इटलीका विपक्षी दलहरूले उनको कडा आलोचना गरिरहेका थिए। तर यस पटक उनले खुलेरै ट्रम्पको भनाइको विरोध गरेकी छिन्।

यसैबीच, पोप लियोले ट्रम्पको बयानमाथि कुनै सीधा टिप्पणी गर्न अस्वीकार गरेका छन्। उनले आफू सधैँ शान्तिको पक्षमा उभिइरहने र आफूलाई ट्रम्प प्रशासनको कुनै डर नभएको बताएका छन्।

पोपले लगातार इरानमा भइरहेको युद्धको विरोध गर्दै आएका छन्। यसअघि ट्रम्पले ‘इरानी सभ्यतालाई नै सिध्याइदिने’ भनी दिएको अभिव्यक्तिलाई पनि पोपले कडा आलोचना गरेका थिए।

वैशाख १, २०८३ मंगलबार १३:११:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।