इरानको ‘आर्थिक आतंकवाद’को कडा जवाफ दिने अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको चेतावनी

इरानको ‘आर्थिक आतंकवाद’को कडा जवाफ दिने अमेरिकी उपराष्ट्रपति जेडी भेन्सको चेतावनी

एजेन्सी : अमेरिकी उपराष्ट्रपति जेडी भेन्सले इरानमाथि 'आर्थिक आतंकवाद'को आरोप लगाउँदै कडा चेतावनी दिएका छन्।

इरानले हर्मुज जलडमरूमध्य (स्ट्रेट अफ हर्मुज) भएर आवतजावत गर्ने व्यावसायिक पानीजहाजहरूलाई रोकेको सन्दर्भलाई जोड्दै उनले यस्तो आरोप लगाएका हुन्।

अमेरिकी टेलिभिजन च्यानल फक्स न्युजसँगको कुराकानीमा उपराष्ट्रपति भेन्सले भने, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पले यो खेल दुवैतर्फबाट खेल्न सकिन्छ भन्ने स्पष्ट पारिसक्नुभएको छ। यदि इरानले आर्थिक आतंकवादलाई निरन्तरता दिन्छ भने, कुनै पनि इरानी पानीजहाज बाहिर निस्कन नपाउने नीतिमा अमेरिका उभिनेछ।’

हालै पाकिस्तानको इस्लामाबादमा इरानी अधिकारीहरूसँग भएको वार्तापछि भेन्सले 'बल अब इरानको कोर्टमा रहेको' टिप्पणी गरेका छन्।

उक्त वार्तामा केही प्रगति भएको दाबी गर्दै उनले थपे, ‘इरान अब लचिलो हुनैपर्छ र अमेरिकाका अत्यावश्यक मागहरू सम्बोधन गर्नुपर्छ। इरानको प्रशोधित युरेनियममाथि अमेरिकाको नियन्त्रण हुनुपर्छ र इरानले परमाणु हतियार विकास गर्न नसकोस् भनेर सुनिश्चित गर्ने कडा अनुगमन संयन्त्र लागू गरिनुपर्छ।’

स्मरण रहोस्, इस्लामाबादमा भएको उक्त द्विपक्षीय वार्तामा उपराष्ट्रपति भेन्स आफैँ पनि सहभागी थिए। यद्यपि, उक्त वार्ता निष्कर्षविहीन रूपमा टुङ्गिएको थियो र त्यसलगत्तै दुवै देशले असफलताको कारण देखाउँदै एकअर्कामाथि आरोप-प्रत्यारोप लगाएका थिए।

वैशाख १, २०८३ मंगलबार ०७:४७:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।