दुर्लभ वन्यजन्तुको अखेटोपहारको कारोबार र जुवातास सट्टेबाजीमा संलग्न रहेको आरोपमा चाइनिज गिरोह पक्राउ
काठमाडौं : काठमाडौंमा दुर्लभ वन्यजन्तुको अखेटोपहारको अवैध कारोबार र जुवातास सट्टेबाजीमा संलग्न रहेको आरोपमा चाइनिज गिरोह पक्राउ परेको छ।
महानगरीय प्रहरी परिसर, टेकु र महानगरीय प्रहरी वृत्त, लैनचौरबाट खटिएको विशेष टोलीले उक्त गिरोहलाई काठमाडौं महानगरपालिका–१७, ज्याठा गल्लीस्थित वेनलङ सीले सञ्चालन गरेको जायंघु खाजन होटलबाट पक्राउ गरिएको हो।
.jpg)
प्रहरीका अनुसार जुवातास सट्टाबाजी खेलिरहेको अवस्थामा उनीहरूको साथबाट ८ लाख ८९ हजार १ सय ५५ रूपैयाँसहित बाघको छालाजस्तो देखिने १ थान, बाघको दाँतजस्तो देखिने २ थान, गाईको छालाजस्तो देखिने १ थान, कस्तुरीको बिना जस्तो देखिने २० थान बरामद गरिएको प्रहरीले जनाएको छ।
.jpg)
यस्तै, जुवातास खेल्न प्रयोग गरेको विद्युतीय टेबल २ थान, जुवातास खेल्न प्रयोग हुने चाइनिज भाषा माजुङ बताउने प्लास्टिकको गोटी ४ सय १० थान, विभिन्न कम्पनीका मोबाइल फोन ७ थान, बुद्धचित्त ९ सय थान, रुद्राक्ष अन्दाजी २० केजी, राहदानी २ थान, चाइनिज बैंकहरूका ३५ थान एटिएम कार्ड बरामद गरिएको छ।
.jpg)
यसैगरी, भौचर पाना (लेखिएका) २ सय ५० थान, भौचर पाना (नलेखिएका) ६८ थान, फलामको धारिलो खुकुरी २ थान र फलामको धारिलो तरवार १ थान बरामद गरिएको छ।
घटनाबारे महानगरीय प्रहरी वृत्त, लैनचौरले अनुसन्धान गरिरहेकाे प्रहरीले जनाएको छ।
असार २२, २०७८ मंगलबार १६:०९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।