होटलमा कोठा भाडामा लिएर एनपिएलमा अनलाइन सट्टेबाजी, चार भारतीयसहित पाँच जना पक्राउ

होटलमा कोठा भाडामा लिएर एनपिएलमा अनलाइन सट्टेबाजी, चार भारतीयसहित पाँच जना पक्राउ

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) लगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा अनलाइन सट्टेबाजी गराएको आरोपमा दाङबाट पाँच जनालाई पक्राउ परेका छन्।

दाङको लमही नगरपालिका-५ रातोडाँडास्थित जस्मिन होटल एण्ड लजको तेस्रो तलामा दुई कोठा भाडामा लिएर अनलाइन सट्टेबाजी गराएको आरोपमा शुक्रबार साँझ एक नेपाली र चार भारतीय नागरिकलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

अनलाइन सट्टेबाजी प्लेटफर्म सञ्चालन भइरहेको सूचना प्राप्त भएपछि खानतलासी गर्दा होटलको कोठा नम्बर २०३ र २०४ भाडामा लिएर अनलाइन बेटिङ प्लेटफर्ममार्फत सट्टेबाजीसम्बन्धी कारोबार गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

उनीहरूको साथबाट सट्टेबाजीको कारोबारमा प्रयोग गरिएका दुई डेस्कटप कम्प्युटर, तीन ल्यापटप र १३ मोबाइल फोन गरी १८ विद्युतीय उपकरण बरामद गरिएको प्रहरीले जानकारी दियो। पक्राउ परेकाहरूको पहिचान खुलाएको छैन। उनीहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वडा प्रहरी कार्यालय लमहीमा राखिएको प्रहरीले जनाएको छ। 

मंसिर ५, २०८३ शनिबार २१:०४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।