शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

शान्ति प्रक्रियाका बाँकी काम अविलम्ब पूरा गर्न प्रचण्डको आग्रह

काठमाडौं : नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विस्तृत शान्ति सम्झौताका बाँकी काम अविलम्ब पूरा गर्न सरकार, राजनीतिक दल तथा सम्बन्धित सरोकारवाला पक्षलाई आग्रह गरेका छन्।

विस्तृत शान्ति सम्झौता भएको ऐतिहासिक दिन मंसिर ५ गतेको अवसरमा शनिबार एक सन्देश जारी गर्दै संयोजक प्रचण्डले शान्ति सम्झौताका सबै प्रतिबद्धता अझै पूर्ण रूपमा कार्यान्वयन हुन नसकेको उल्लेख गरेका हुन्।

सन्देशमा उनले विशेषगरी द्वन्द्वपीडितलाई न्याय, सत्य निरुपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको अवस्था सार्वजनिक गर्ने कार्य र संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्नुपर्ने दायित्व अझै बाँकी रहेको बताएका छन्।

शान्ति सम्झौताको मर्म द्वन्द्वको अन्त्य मात्र नभई पीडितलाई न्याय, समाजमा मेलमिलाप, दिगो शान्ति र सुशासनसहितको समृद्ध राष्ट्र निर्माण भएको उल्लेख गर्दै उनले संक्रमणकालीन न्यायको प्रक्रियालाई पीडितको भावना र सम्झौताको मूल मर्मअनुसार निष्कर्षमा पुर्याउनु आजको राष्ट्रिय आवश्यकता भएको धारणा राखेका छन्।

२०६३ मङ्सिर ५ गते तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र नेकपा (माओवादी) का अध्यक्षका रूपमा आफूले विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर गरेको स्मरण गर्दै प्रचण्डले यसलाई दुई पक्षबिचको सम्झौता मात्र नभई नेपाली जनताको त्याग, बलिदान, संघर्ष र परिवर्तनको आकांक्षाबाट निर्मित राष्ट्रिय सहमतिको दस्तावेजका रूपमा व्याख्या गरेका छन्।

यही सम्झौताको जगमा संविधानसभाको निर्वाचन, संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना, समावेशी लोकतन्त्र र संविधान निर्माणजस्ता उपलब्धि हासिल भएको उनको भनाइ छ।

संयोजक प्रचण्डले समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि जीवन आहुति दिने सहिद तथा बेपत्ता योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन्।

साथै, शान्ति प्रक्रियामा योगदान पुर्याउने सम्पूर्ण राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवी, सुरक्षाकर्मी, द्वन्द्वपीडित तथा आम नेपाली जनताप्रति सम्मान प्रकट गर्दै उनले शान्ति सम्झौताको पूर्ण कार्यान्वयन र द्वन्द्वपीडितलाई न्याय सुनिश्चित गर्नु सबैको साझा जिम्मेवारी भएको बताएका छन्।

मंसिर ५, २०८३ शनिबार ०९:२०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।