नयाँ शोरुम खोलेसँगै टिभिएसले बाढी प्रभावित क्षेत्रका लागि दियो २५ मोटरसाइकल
काठमाडौं : टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले भोटेकोशी बाढी प्रभावित क्षेत्रका लागि २५ वटा मोटरसाइकल सहयोग गरेको छ। शुक्रवार नेपालकै पहिलो प्रिमियम तथा विद्युतीय सवारीसाधन (ईभी) शोरुमको उद्घाटन गरेसँगै सामाजिक कामका लागि २५ मोटरसाइकल हस्तान्तरण गरेको हो।
शुक्रवार टीभीएस मोटर कम्पनीका एसिया क्षेत्रीय व्यवसाय प्रमुख अनुभव बाली र अभिनेता प्रदीप खड्काले संयुक्त रूपमा शोरुमको उद्घाटन गरेका थिए। उद्घाटनको अवसरमा बाइक र्यालीसमेत आयोजना गरिएको थियो।
शोरुम उद्घाटनकै अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व पहलअन्तर्गत बाढी प्रभावित समुदायको सेवा र पुनः स्थापनामा सघाउन विभिन्न सरकारी तथा स्थानीय संस्थाहरूलाई २५ वटा ‘टीभीएस अपाचे’ मोटरसाइकल हस्तान्तरण गरेको थियो।
कम्पनीका प्रतिनिधि सुगन्धा सिंह र अश्विनले नुवाकोट जिल्ला प्रहरी कार्यालय, नुवाकोट केन्द्रीय कारागार, विदुर नगरपालिका, विदुर जिल्ला अस्पताल, विदुर सरकारी विद्यालय, रसुवा जिल्ला प्रहरी कार्यालय, आमाछोदिङ्मो गाउँपालिका, आमाछोदिङ्मो सरकारी विद्यालय र अस्पताल तथा उत्तरगया गाउँपालिका, उत्तरगया सरकारी विद्यालय र अस्पतालका प्रतिनिधिलाई साँचो हस्तान्तरण गरेका थिए।
उद्घाटन समारोहमा बोल्दै टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यवसाय अध्यक्ष पेमन कार्गरले टीभीएसएमको अन्तर्राष्ट्रिय विस्तार यात्रामा नेपाल एक महत्वपूर्ण बजार रहेको बताएका थिए। जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक साहिल अग्रवालले टीभीएसएमसँगको १५ वर्ष लामो साझेदारीले नेपाली बजारमा गुणस्तरीय सवारीसाधन र उत्कृष्ट बिक्रीपछिको सेवा दिन सफल भएको बताए।
नवनिर्मित शोरुममा ग्राहकले टीभीएसका प्रिमियम बाइक र विद्युतीय सवारीसाधन एउटै छानामुनि किन्न सक्नेछन्। शोरुममा टीभीएस अपाचे आरटीआर २०० ४ भी यु.एस.डी. प्रोजेक्टर, अपाचे आरटीआर १६० ४ भी यु.एस.डी. प्रोजेक्टर, टीभीएस रोनिन, टीभीएस रोनिन अगोन्डा, विद्युतीय स्कुटर टीभीएस आईक्यूब र टीभीएस अर्बिटर उपलब्ध हुनेछन्। प्रिमियम बाइकका लागि अधिकृत गियर, एक्सेसरीज र कस्टमाइज्ड हेलमेटसमेत उपलब्ध गराइएको कम्पनीले जनाएको छ।
मंसिर ४, २०८३ शुक्रबार २१:०१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।